सहसचिव र उपसचिवको नयाँ भर्ना प्रक्रिया शुरु हुने

काठमाडौं,३० साउन । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ । मन्त्रालयले आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो ।

मन्त्रालयले पदपूर्ति प्रक्रियाका लागि रिक्त दरबन्दीको विवरण माग गरेकाले सहसचिव र उपसचिवमा लोकसेवा आयोगको वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन सक्ने देखिएको हो । मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक (प्रशासन) तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन् ।

उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ । जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । दुुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Comments
Loading...