गण्डकीका सांसदद्धय बराल र पहारी होम क्वारेन्टिनमा

पोखरा,२७ भदौ । गण्डकी प्रदेशसभाका सदस्यद्धय रामजीप्रसाद बराल(जीवन) र राजीव पहारी होम क्वारेन्टिनमा बसेका छन् । शुक्रबार पोखरामा मृत्यु भएकी पोखरा–५ निवासी ४७ वर्षीया महिलाको अन्त्येष्टि पछि आज कोरोना रिपोर्ट पोजिटिभ आएपछि सांसदद्धय क्वारेन्टिनमा बसेका हुन् । दुबै जना सांसद महिलाको अन्त्येष्टिमा सहभागि भएका थिए ।

सांसद पहारीले अन्त्येष्टिमा सहभागि सबै जनालाई घरमै सुरक्षित साथ बस्न आग्रह गरेका छन् । पहारीले भने,“पोखराका स्थापित पर्यटन व्यवसायीको श्रीमतिको दुःखद निधनपछि शुक्रबार विहान श्रद्धाञ्जलीका लागि रामघाट गएको थिए । आज उहाँमा कोरोना संक्रमण पुष्टि भएपछि म होम क्वारेन्टिनमा बसेको छु । मेरो सम्पर्कमा हुनुभएका सबैजनालाई सुरक्षितसाथ घरमै बस्न आग्रह गर्दछु ।”

सांसद पहारी शुक्रबार अन्त्येष्टि पछि पार्टी कार्यक्रममा सहभागि हुन अन्नपूर्ण गाउँपालिका पुगेका थिए । त्यसैगरी माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ तथा उपाध्यक्ष कृष्णकुमारी दवाडी लगायतका जनप्रतिनिधिहरु समेत होम क्वारेन्टिनमा रहेका छन् ।

गाउँपालिकाले अन्त्येष्टि कार्यक्रममा सहभागिहरुलाई घरमै बस्न आग्रह गरेको छ । माछापुच्छ्रे गाउँपालिका–३ घाचोक स्थायी घर भईकी संक्रमित महिला क्यान्सरबाट समेत पीडित थिइन् ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले मलामी गएका सबैजनालाई पाँच दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । महाशाखाका अधिकृत हरिलाल आचार्यले पाँच दिनपछि मलामी गएकाहरुको नमूना परीक्षण गरिने बताए । मृतकका परिवारका सदस्यको भने आजनै स्वाब संकलनको तयारी गरिएको छ ।

 

Comments
Loading...