सडकको ढलान गुणस्तरीय नभएको समाचारपछि जिल्ला समन्वयबाट मेलवोट सिदिङ सडकको अनुगमन

पोखरा,२८ भदौ । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका–२५ मेलबोटदेखी माछापुच्छ«े गाउँपालिका–९ को सिदिङसम्मको निर्माणाधीन सडकको आज अनुगमन गरेको छ ।

सो सडकको ढलानका क्रममा मापदण्ड अनुसारको निर्माण सामग्री प्रयोग नगएको सम्वन्धी समाचार आज विहान हिमाली आवाज डटकम अनलाइन पत्रिकामा प्रकाशित भएपछि समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्री नेतृत्वको टोलीले अनुगमन निरीक्षण गरेको हो ।

राष्ट्रिय पुनःर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीको रु २८ करोड ५२ लाख ८७ हजार ३५१ लागतमा निर्माणाधीन सो सडकमा ढलानका लागि बिछ्याइएको सोलिङ तोकिएको मापदण्ड अनुसार नभएको पाएपछि अनुगमन टोलीले तोकिएको मापदण्डका पालना गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको छ ।

टोलीले अनुगमनका क्रममा सडक सोलिङ गर्ने ढुङ्गा गुणस्तरीय नभएको पाएपछि बिछ्याइसकेको ढुङ्गा निकाल्न लगाएर आगामी दिनमा सम्झौता र मापदण्ड अनुसारको सामग्रीमात्र प्रयोग गर्न निर्माण व्यवसायीलाई भनेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले न्यूनतम ‘१० सेन्टी’को सोलिङको मापदण्ड पूरा भएपनि प्रयोग प्रयोग गरिएको ढुङ्गा गुणस्तरीय नभएको पाइएको बताए । प्रमुख अधिकारी आफै बसेर प्रयोग गरिएको कमसल खालको ढुँगा निकाल्न लगाएका थिए ।

समन्वय प्रमुख अधिकारीले भने,“सोलिङको न्यूनतम मापदण्ड पूरा भएपनि प्रयोग भएको सामग्रीको मापदण्ड र गुणस्तर पालना नभएकाले त्यसलाई भत्काएर फेर्न लगाएका छौँ । अहिलेको कमजोरीलाई सुधार गरेर मात्र अन्य काम अघि बढाउन निर्देशन दिएका छौँ, तुरुन्त सुधार गर्ने गरी काम भएको छ ।”

मेलबोटदेखी सिदिङसम्मको १५ दशमलव नौ किमी सडक विसं २०७६ पुसभित्रमा सम्पन्न गर्ने गरी विसं २०७५ असारमा सम्झौता गरिएको थियो । त्यसपछि असोज पहिलो साता शिलान्यास गरिएको थियो । सडक निर्माणको जिम्मा हिमदुङ एण्ड थोकर÷ड्रागन जेभीले लिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख नवराज शर्माले सोलिङमा प्रयोग गरिएको ३० प्रतिशत जति ढुङ्गा निकाल्ने काम भएको बताउँदै अब साना ढुङ्गा प्रयोग नगर्न आग्रह गरिएको र अब निरन्तर अनुगमन गरिने बताए । उनले अव प्राविधिक कर्मचारीलाई कामको मुल्याङ्कनका लागि निर्माणस्थलमै खटाइने प्रतिवद्धता समेत जनाए ।

माछापुच्छ्रे गाउँपालिका प्रवेशको सो सडकमा विगतमा समेत कालोपत्रे गर्ने क्रममा हेलचक्राई गर्दा सडक एक वर्षपछिनै जीर्ण भएको थियो ।
ओसिलो र कम घाम पर्ने मेलबोटदेखी मर्दीपुलसम्म ढलान गर्ने सम्झौता छ । नदीजन्य सामग्री बोक्ने गाडीको बढी आवतजावत हुने सो सडकको ढलान पक्की र दिगो बनाउन माछापुच्छ्रेवासीको माग छ ।

अनुगमनमा समन्वय सदस्य गोेमादेवी अधिकारी गौतम, जिल्ला आयोजना इकाइका आयोजना प्रमुख शर्मा, समन्वयका इन्जिीनियर तथा प्राविधिकको सहभागिता थियो ।

Comments
Loading...