भ्रष्टाचार र कमिसनतन्त्रले तीन करोड जनतालाई दैनिक मारिरहेको छ : प्रदेश प्रमुख शेरचन

पोखरा,३ असोज । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पाँचौ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सबैमा सःुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना समेत गरे ।

सन्देशमा उनले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको र तीन तहका सरकारहरू सञ्चालनमा आएसँगै त्यस अनुरुप संरचनाहरू संस्थागत र सुदृढ हुँदै गएको उल्लेख गरेका छन् ।
संविधानले सुनिश्चित गरेको सामाजिक न्यायसहितको समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा मुलुक अगाडि बढिरहेको उनको भनाई छ ।

“सात दशक अघिदेखिको जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको चाहना पूरा भएको ऐतिहासिक दिन हो । यसका निम्ति जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न कालखण्डमा भएका नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरूको उल्लेखनीय योगदान रहेको छ । आजको यस दिनले हामी सबैमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु ।” सन्देशमा भनिएको छ ।

शेरचनले जनतालाई राजनैतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागिका लागि समेत आह्वान गरे ।

देशको आन्तरिक दुश्मन कमिसनतन्त्र र भ्रष्टाचार रहेको भन्दै प्रमुख शेरचनले एक जना ज्यान मार्ने व्यक्तिले आजिवन काराबासको सजायँ पाए पनि भ्रष्टाचार र कमिसनतन्त्रले तीन करोड जनतालाई दैनिक रुपमा मारिरहेको उनको भनाई छ ।

राष्ट्रिय समृद्धिको प्रमुख बाधक पनि भ्रष्टाचार र कमिसनतन्त्र रहेकोकाले त्यसका विरुद्ध जुट्न सबैले राष्ट्रिय सङ्कल्पका लागि समेत आग्रह गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन उनले आह्वान गरेका छन् ।

Comments
Loading...