अन्नपूर्ण गाँउपालिकाका बाढी पहिरो पीडितलाई तरुण दलको आर्थिक सहयोग

कास्की । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले सुरु गरेको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत सोमबार बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

तरुण दल कास्कीले कास्की क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाँउपालिका वडा नम्बर १ र २ का बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको हो । अन्नपूर्ण गाँउपालिका १ का विष्णु परियार, वडा नम्वर २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही पाँच÷पाँच हजारको दरले सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला उपसभापती आई बहादुर गुरुङ, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य भरत बहादुर अधिकारी, कार्यक्रमका अध्यक्ष विजय गुरुङ, क्षेत्र नम्बर ३ का संयोजक विकाश गुरुङ लगायतले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका आईबहादुर गुरुङले लौह पुरुष गणेशमान सिंहको सम्झना गर्दै तरुणहरु पनि लौह पुरुषले देखाएको बाटोमा हिड्न सक्नुपर्ने बताए । तरुण दलले गरेको कामको प्रशंसा गर्दै उनले आगमी दिनमा पनि तरुण दल यस्तै सामाजिक कार्यमा जागरुक हुन सक्नुपर्ने बताए ।
तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई शशक्त बनाउन युवा तरुणको महत्वपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गरे ।

आफुले स्कुले जिवनमै चिनेको गणेशमान सिंहको एक बोलीमा देशैभरि नै तरङ्ग ल्याउने र सकरात्मक प्रभाव पर्ने सक्ने क्षमता भएको स्मरण गरे । लौह पुरुषको सम्झनामा तरुण दल सुखमा मात्र होईन दुःखमा पनि साथमै छ भन्ने सन्देश दिन आफुहरुले थोरै भएपनि आर्थिक सहयोग गरेको उनले बताए । सप्ताहब्यापी कार्यक्रम भएकोले आगामी दिनमा कास्कीको अन्य स्थानमा पनि आर्थिक सहयोग गर्ने योजना रहेको उनको भनाई थियो ।

नेपाली कांग्रेस, अन्नपूर्ण गाँउपालिका सभापती मनपती भण्डारीले तरुण दलको यस कार्यक्रमको खुलेर प्रशंसा गरे । सोही अवसरमा पार्टीमा गुट उपगुट भएपनि अन्नपूर्ण गाँउपालिकाका कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उनले बताए ।

कार्यक्रमका अध्यक्ष विजय गुरुङले तरुण सधै दिनदुःखीहरुको साथमा रहने बताए । उनले आगामी दिनमा पनि यस्तै सुख दुःखमा तरुण दल हातोमालो गर्न तयार रहेको बताउदै आर्थिक हस्तान्तरण कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका थिए ।

तरुण दल कास्की क्षेत्र नम्बर ३ का संयोजक विकाश गुरुङले केन्द्रिय समितीले गरेको परिपत्र अनुसार आफुहरुले आर्थिक सहयोग गरेको बताए । केन्द्रको पत्रमा सप्ताहब्यापी कार्यक्रम गरेर गणेशमान सिंहको २३ औं स्मृति दिवश मनाउनु भने अनुसार कास्कीको ल्वाङ र मादीका बाढी पहिरो पिडितलाई आर्थिक सहयोग गरिसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य भरत बहादुर अधिकारी, नेपाल तरुण दलका पूर्व केन्द्रिय भरतजंग कुवँर लगायतले आफ्नो भनाई राखेका थिए । नेपाली कांगे्रस, अन्नपूर्ण गाँउपालिका २ का सभापती लोकराज भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन तरुणदल अन्नपूर्ण गाँउपालिकाका सचिव दिल जि.सी दाहालले गरेको थिए ।

Comments
Loading...