महासंघ कास्कीका अध्यक्ष श्रेष्ठ र फोटो पत्रकार कँडेल प्रेस काउन्सिलबाट पुरस्कृत

हिमाली आवाज । पोखराका  क्रियाशिल दुई सञ्चारकर्मी आज राजधानीमा पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल नेपालको ५१ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुस्कार तथा राससका फोटो पत्रकार राधिका कँडेल प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

प्रेस काउन्सिलको कार्यालय सञ्चारग्राममा आयोजित कार्यक्रममा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले पोखराका दुई सञ्चारकर्मी सहित अन्य पत्रकारहरुलार्ई पुरस्कृत गरेका थिए ।

क्रियाशिल पत्रकारिता पुरस्कारको राशी रु २० हजार सहित सम्मानपत्र तथा युवा पत्रकारिता पुरस्कारको राशी रु १५ हजार र सम्मानपत्र छ ।
महासंघका अध्यक्ष श्रेष्ठ दुई दशकअघि देखी पत्रकारिता पेशमा क्रियाशिल छन् ।

विसं २०५८ मा रेडियो अन्नपूर्णबाट उनले पत्रकारिता शुरुआत गरेका थिए । उनी यसअघि टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार,रेडियो अन्नपूर्णले स्थापना गरेको पहिलो ‘वेष्ट स्टाफ’ पुरस्कार, पोखरा वस व्यवसायी समितिको यातायात पत्रकारिता पुरस्कार लगायत विभिन्न संघ संस्थाले प्रदान गर्ने एक दर्जन पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

श्रेष्ठले पत्रकारिता विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले विभिन्न उद्घोषण तथा पत्रकारिता तालीम समेत प्रदान गर्ने गरेका छन् ।

फोटो पत्रकार कँडेल गत वर्षदेखी राष्ट्रिय समाचार समितिमा फोटो पत्रकारका रुपमा कार्यरत छिन् । उनले एक दशकअघि पत्रकारिता शुरु गरेकी थिइन् । हालै फोटो पसलले आयोजना गरेको कोभिड फोटो प्रतियोगितामा उनी देशभरका दुई हजार फोटो मध्येबाट तृतीय हुन सफल भई रु पाँच हजार पुरस्कार प्राप्त गरेकी थिइन् ।

Comments
Loading...