कोरोना संक्रमित बढेपछि तीन वटा स्थानीय तह बन्द

म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् ।

मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो ।

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मङ्सिर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको जानकारी दिनुभयो ।

छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मङ्गलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो ।

मङ्गलाका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि एक हप्ताका लागि बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताउनुभयो ।

दरवाङका एक सुरक्षाकर्मीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ ।

सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ । बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या भएको छ । सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन् ।

Comments
Loading...