गाेरखाकाे बाढी प्रभावित क्षेत्रबाट ३ सय भन्दा बढीको उद्धार

हिमाली आवाज । उत्तरी गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीका कारण अलपत्र परेका स्थानीय तथा पर्यटकहरूको उद्धार कार्यलाई तीव्र पारिएको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सोमवार मात्रै ३ सय २१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा १२ जना विदेशी पर्यटक समेत रहेका छन्।

‘आइतबारदेखि नै नेपाली सेनाका तीन वटा हेलिकप्टर उद्धार कार्यमा निरन्तर खटिएका छन्,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भन्नुभयो, ‘नागरिक तथा पर्यटकहरू जहाँ फसेका छन्, त्यहीँ पुगेर हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।’

उहाँका अनुसार आइतबार ९ जना विदेशीसहित ९६ जनाको उद्धार गरिएको थियो। उत्तरी गोरखाका जगत, दोभान, सल्लेरी, फिलिम लगायतका दुर्गम स्थानहरूबाट उहाँहरूको उद्धार गरिएको हो। मङ्गलवार पनि बिहानैदेखि उद्धारका लागि हेलिकप्टर उडान हुने उहाँले जानकारी दिनुभयो।

Comments
Loading...