आलुमा आत्मनिर्भरताका लागि माछापुच्छ्रेको एउटा वडाको यस्तो छ कार्यक्रम

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ ले आलु,प्याज तथा लसुनमा वडालाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।

कृषकलाई सहज रुपमा बीउ विजन उपलव्ध गराई धेरै क्षेत्रफलमा उत्पादन गरेर दैनिक भान्सामा अत्यावश्यक आलु,प्याज तथा लसुनमा आत्मर्निभर बन्ने र आयात गर्नुपर्ने अवस्था अन्त्य गर्ने कार्यक्रम वडाले शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताउनुभयो ।

आत्मनिर्भरतका लागि वडाले कृषकलाई उत्पादनमा लगाउने योजना बनाएको छ । वडाका धेरैभन्दा धेरै कृषकलाई उत्पादनमा प्रेरित गर्न वडाले बीउ निःशुल्क वितरण गरेको छ ।

वडाध्यक्ष दवाडीले भन्नुभयो,“ हामीले हाम्रो अध्ययनमा वडामा बढि आयात हुने बस्तु आलु,प्याज, गोलभेँडानै रहेको पायौँ । यसका लागि रकम बाहिर जानबाट रोक्न सबै घरधूरीलाई उत्पादनमा लगाएर आत्मनिर्भर बन्ने उपाय निकालेका हौँ । कृषकलाई चाहिने बीउ बिजन हामी निःशुल्क उपलव्ध गराउँछौ ।”

वडाले चालू वर्षमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका कृषकहरुलाई उत्पादन वृद्धि गर्न सघाउनको स्वीकृत वार्षिक कार्यक्रम अनुसार १४ कृषक समूहलाई दुई हजार ८०० केजी आलुको बीउ निःशुल्क वितरण गरेको छ ।

अघिल्लो वर्षबाट शुरु गरिएको कार्यक्रमबाट कृषकहरु उत्साहित भएपछि यस वर्ष वितरण गरिने बीउको परिमाण वृद्धि गरिएको बताइन्छ । अघिल्लो वर्ष एक हजार २०० केजी उपलव्ध गराइएको थियो ।वडाले चालू वर्षमा ३०० केजी लसुनको बीउ वितरण गर्ने भएको छ । पोखरा, चितवन लगायतका ठाउँमा सम्पर्क गर्दा हाल बजारमा बीउ अभाव भएकाले तत्कालै वितरण गर्न कठिन भएपनि सहज भएपछि वितरण गरिने वडाले जनाएको छ ।

प्रति समूह २० केजीका दरले १५ समूहलाई लसुनको बीउ वितरण गर्ने योजना रहेको वडाध्यक्ष दवाडीले बताउनुभयो । यसैगरी प्याजको बेर्ना तयार गर्नका लागि पाँच केजी बीउ वितरण गरिएको छ । थोरै लगानी र मेहनतमा यहीँ उत्पादन हुने खाद्यवस्तुको उत्पादनमा कृषकलाई प्रेरित गर्दै उत्पादन बढाउँदै आत्मनिर्भर बन्ने योजनालाई निरन्तरता दिईने जनाइएको छ ।

वडाले अघिल्लो वर्षबाट आत्मनिर्भर हुने कार्यक्रम अघि सारेको थियो । अनुदानमा बीउ पाएपछि कृषक आफ्नै करेसाबारीमा उत्पादनमा लागेको बताइन्छ । वडाले चालूू आर्थिक वर्षमा कृषि विकासतर्फ रु १० लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट बीउ वितरणसँगै कृषकहरुलाई ४० वटा प्लाष्टिक टनेल,१० जना कृषकलाई एक÷एक वटाका दरले उन्नत जातका बोका तथा १० जना कृषकलाई भकारो सुधारका लागि अनुदान उपलव्ध गराइने योजना छ ।

आलुमा उत्पादनमा आत्मनिर्भर बन्ने वडाको योजनामा विभिन्न सङ्घ संस्थाले समेत साथ दिँदै आएका छन् । ‘दी मेरीगोल्ड चेन’ नामक संस्थाले पनि वडाको घलेल र ठाँटीका कृषक समूहलाई ६०५ केजी आलुको बीउ वितरण गरेको संस्थाका प्रतिनिधि राम गुरुङले जानकारी दिनुभयो ।वडाको आत्मनिर्भर बन्ने योजनामा आफूहरुको समेत समर्थन रहेकाले निःशुल्क बीउ वितरण गरिएको उहाँको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको मर्दी हिमाल तथा माछापुच्छ«े पदयात्रा मार्गमा पर्ने यस क्षेत्रमा घरवास ‘होमस्टे’ तथा होटल रेष्टुरेन्टहरू समेत खुल्नेक्रम बढेपछि व्यावसायिक उत्पादनमा कृषक लागेका छन् ।

पर्यटकीय गतिविधि वृद्धिसँगै कृषि उत्पादनबाट आयआर्जनको सम्भावना बढेकाले शुरुआतमा आत्मर्निभर बन्ने र त्यसपछि क्रमशः व्यावसायिक उत्पादनका कार्यक्रम ल्याइने वडाले जनाएको छ । गाउँपालिकाको नौ वडा रहेकामा यस वडाको २०.२३ वर्ग किमी क्षेत्रफल तथा ७०० घरधुरी छन् । कूल जनसङ्ख्या दुई हजार ७०० रहेकामा अधिकांशको आयआर्जनको प्रमुख स्रोत कृषि हो ।

सिमलबेँसी, लाङ्दीफाँट ल्वाङ, घलेल तथा कोलेलीमा धान, मकै, गहुँलगायत खाद्यबाली तथा तरकारी र अलैँचीलगायत नगदे बालीको उत्पादन हुने गरेको छ ।

Comments
Loading...