पोखराको मौजामा ‘हाइ अल्टिच्युड’ रङ्गशाला, १६ करोडको डिपिआर तयार 

हिमाली आवाज । पोखरा महानगरपालिका–२० को मौजामा उच्च पर्वतीय(हाइ अल्टिच्युड) रङ्गशाला निर्माण हुने भएको छ ।

समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल,बास्केटबल सहितका  खेल पूर्वाधार निर्माण गर्न लागेको हो ।

महानगरको चालू आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा बजेट कार्यक्रममा हाइ अल्टिच्युड खेल मैदानका लागि भनेर रु ५० लाख बजेट विनियोजन गरिएको थियो । हाइअल्टिच्युडको मापदण्ड पूरा नहुने भएपनि महानगरको सबैभन्दा उचाइमा बन्ने भएकाले महानगरले हाइ अल्टिच्युड रङ्गशाला नाम दिएको हो ।

रङ्गशाला निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भइसकेको र आगामी पुस महिनादेखी जमिन समधर बनाएर खेल्न योग्य बनाउने काम शुरु गरिने सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

फुटबल मैदान( इलाभेन साइड),बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा(चेञ्जिङ रुम) र दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट निर्माणका लागि डिपिआरमा रु १६ करोड खर्च लाग्ने उल्लेख छ । यसैगरी चमेनागृह, शौचालय लगायतका पूर्वाधार पनि निर्माण गरिनेछ ।

“महानगरकोे सबैभन्दा उचाइमा रहेको यस स्थानमा रङ्गशाला निर्माण गरी खेल पर्यटन प्रवद्र्धनको योजना अनुसार डिपिआर बनिसकेको छ ।” वडाध्यक्ष गुरुङले भन्नुभयो,“चालू आवमा विनियोजित बजेटबाट अब तत्कालै जमिन सम्माउने काम शुरु गछौँ, अन्य पूर्वाधार निर्माणका लागि महानगरबाट आगामी वर्ष थप बजेट विनियोजन हुनेछ भने प्रदेश र सङ्घ सरकारसँग पनि बजेट माग गछौँ ।”

प्रश्तावित रङ्गशालाबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरवस्ती तथा हरियाली जङ्गलको सुन्दरताले सो क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेका छन् ।

मौजाको आँटीघर होमस्टे(घरवास) नेपाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । विगतमा सडक, खानेपानी लगायतका पूर्वाधार विकासमा पछि परेको यस वडामा हाल महानगरको कनेक्टिभिटी सडक योजना अन्तगर्त पक्की सडक निर्माण भइरहेको छ ।

सडकको सहज पहुँच र आकर्षण पर्यटकीय गन्तव्य बोकेको स्थानमा निर्माण हुने रङ्गशालाबाट खेल पर्यटनको समेत विकास हुने भनाई वडाध्यक्ष गुरुङको छ । उहाँले भन्नुभयो,“यसको सम्भावना धेरैनै राम्रो छ  र यो महानगरको गौरवको आयोजना पनि बन्छ, रङ्गशाला बनाउने, होमस्टेको विकास गर्ने र राष्ट्रिय खेलाडीलाई यहीँ राखेर प्रशिक्षण गराउने योजना छ ।”

महानगरको सबैभन्दा उचाइमा खेलकूद पूर्वाधार निर्माण हुनेभएपछि स्थानीयवासी समेत उत्साहित भएका छन् । स्थानीयवासी एमन गुरुङले रङ्गशाला बनेपछि थप पर्यटक गाउँमा भित्रिने र अन्य विकासका योजना समेत गाउँमा आउने विश्वासमा हुनुहुन्छ ।

विगतमा गाउँमा विकास नहुँदा शहर झरेकाहरु समेत अहिले गाउँ फर्किन थालेको र विस्तारै विकट गाउँ ‘गुल्जार’ हुने उहाँको भनाई छ ।

Comments
Loading...