दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा चार स्वर्ण जित्दै गण्डकी पहिलाे बन्याे

हिमाली आवाज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश प्रथम भएको छ ।

प्रतियोगितामा कर्णाली प्रदेश भने पदकविहीन बनेको छ । प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो ।

तीन स्वर्ण, दुई रजत र चार कास्यसहित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक जितेको बागमती प्रदेश तेस्रो भएको छ ।

त्यस्तै, तीन स्वर्ण र एक रजत गरी चार पदक जितेको सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो स्थानमा रह्यो । दुई स्वर्ण, छ रजत र तीन कास्य गरी कुल ११ पदक जितेको लुम्बिनी प्रदेश पाँचौँ तथा दुई स्वर्ण, एक रजत र दुई कास्यसहित नेपाल पुलिस क्लब छैटौँ भएको छ ।

एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेको कोसी प्रदेश सातौँ स्थानमा रहँदा एक रजत र एक कास्यसहित सुदूरपश्चिम प्रदेश आठौँ भएको छ । दुई कास्य पदक जितेको मधेस प्रदेश नवौँ स्थानमा रह्यो ।

Comments
Loading...