हिमाली आवाज । पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा र गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न तीन खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिसले कोशी प्रदेश र गण्डकीले एपिएफ क्लबलाई पराजित गरेका हुन् ।

दिनको पहिलो खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । प्रतिस्पर्धात्मक खेलमा आयोजकले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ को सेटमा पराजित गर्दै तीन अङ्क जोड्यो । लगातार दोस्रो जितसँगै आयोजक टोली लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ को सेटमा हराएको हो । यसअघि पहिलो खेलमा एपिएफसँग ३–२ को सेटमा पुलिस पराजित भएको थियो ।
अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । गण्डकीले पहिलो र दोस्रो सेट क्रमशः २५–१५ र २५–२१ ले जितेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जितसहित तीन अङ्क जोड्यो ।
प्रतियोगिता बुधबारदेखि सुरु भएकामा मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । ‘राउण्ड रोबिन लिग’ प्रणालीमा भइरहेको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र गण्डकी प्रदेश गरी छ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले रु चार लाख , उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा भोली एपिएफ र कोशी प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी तथा गण्डकी प्रदेश र आयोजक किङ्स क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
