हिमाली आवाज । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा पोखराको फेवाताल किनारमा आज नेपाल–जापान सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा क्रियाशील विभिन्न ११ रोटरी क्लबहरूको आयोजनामा फेवाताल किनार बाराहीघाटमा आयोजना गरिएको कार्यक्रममा नेपाल र जापानका कलाकारले आ–आफ्ना देशका मौलिक कला, संस्कृति, सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
दुवै देशका कलाकारका सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई नेपाल–जापान मित्रता, सांस्कृतिक आदानप्रदान र आपसी सद्भावको उत्सवका रूपमा परिणत गरेको थियो ।
पोखरा महानगरपालिकाको जापानको कोमागाने सिटीसँग सन् २००१ मा भगिनी सम्बन्ध र हुकुतो सिटीसँग सन् २०२४ मा पर्वतीय नगर मित्रता सम्बन्ध समेत कायम भएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र जापानबीचको सम्बन्ध मित्रता, विश्वास र सहकार्यमा आधारित रहेको बताउनुभयो ।
उहाँले ७० वर्ष लामो कूटनीतिक सम्बन्ध दुई देशबीचको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यो सम्बन्ध सरकारी र कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरको आत्मीयता, पर्यटन, शिक्षा तथा विकास सहकार्यमासमेत विस्तार भएको बताउनुभयो ।
“नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धले ७० वर्ष पूरा गर्नु दुवै देशका लागि ऐतिहासिक र गौरवपूर्ण अवसर हो । यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । ” प्रमुख आचार्यले भन्नुभयो ।
प्रमुख आचार्यले पोखरा नेपालको पर्यटन राजधानी भएकाले नेपाल–जापान सम्बन्धलाई पर्यटन प्रवद्र्धन र सांस्कृतिक आदानप्रदानसँग जोडेर थप उपलब्धिमूलक बनाउन सकिने बताउनुभयो । जापानी पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उहाँले यहाँको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सात दशक लामो सहकार्यका क्रममा जापान नेपालको प्रमुख विकास साझेदारका रूपमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा मानव संसाधन विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
फेवाताल किनारमा आयोजित सांस्कृतिक कार्यक्रमले दुई देशबीचको ऐतिहासिक मित्रतालाई स्मरण गराउँदै सांस्कृतिक विविधता र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन सहयोगी हुने बताइन्छ ।
