हिमाली आवाज । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवमा दुई लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिस्थितिका बीच महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय उत्पादनको बजारीकरणमार्फत कृषक तथा उद्यमीलाई प्रोत्साहित गर्न महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो ।
उहाँले वर्तमान अवस्थामा निजी क्षेत्रको मनोबल कमजोर रहेको उल्लेख गर्दै बैंकमा पर्याप्त तरलता भए पनि लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्र लगानी गर्न उत्साहित हुन नसकेको बताउनुभयो । अनुगमनका नाममा हुने हैरानी र व्यवसायमैत्री हुन नसकेको कर प्रणालीले समेत निजी क्षेत्र प्रभावित भएको उहाँको भनाइ थियो ।
महोत्सव सिक्ने र सिकाउने थलोका रूपमा विकास हुँदै अनौपचारिक विश्वविद्यालयकै पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक एवं संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य सामग्री, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि तथा सञ्चार उपकरणको प्रदर्शनी गरिने जानकारी दिनुभयो ।
त्यसैगरी स्थानीय सुन्तला, माछा, मौरीपालन, कफी, ताजा तरकारी तथा दुग्धजन्य उत्पादनको बिक्री र प्रदर्शनी गरिनेछ । महोत्सवमा फुड फेस्टिभल, अटोमोबाइल तथा ग्रामीण प्रविधिको प्रदर्शनी र कृषि, पर्यटन तथा उद्योगसम्बन्धी संवाद कार्यक्रम पनि समावेश गरिएका छन् । महोत्सवको विशेष आकर्षणका रूपमा ‘एसियाको ज्योति’ तथा शान्तिका दूत गौतम बुद्धको प्रतिमा राखिने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न जातजातिका रीतिरिवाज तथा संस्कृति झल्कने प्रदर्शनी, झाँकी र्याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ ।
यसैगरी पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रियस्तरका कलाकारको लोकदोहोरी, हास्यव्यङ्ग्य कार्यक्रम, बाल उद्यान, टिकटक प्रतियोगिता, बृहत् साइकल र्याली तथा उत्कृष्ट स्टललाई पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

महोत्सवमा विभिन्न विधाका ३३५ स्टल रहनेछन् । तीमध्ये गार्मेन्ट, रेडिमेड कपडा तथा फुटवेयरका ११२, कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २६, जनरल २४, फुड एन्ड बेभरेजका १८, खाना महोत्सवका १७, हस्तकलाका १४, शैक्षिक, ग्रामीण प्रविधि तथा कृषि प्रदर्शनीका १३, डेरीका १३, मेसिनरीका १२, नेपाली उत्पादन प्रदर्शनीका १०, अटो प्रदर्शनीका छ तथा बैंक, वित्तीय संस्था र प्रायोजकका ३० स्टल रहनेछन् ।
संघका सदस्यले आफ्नै स्टल राख्दा २० प्रतिशत छुट तथा सामान ढुवानीमा थप दुई हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ । सदस्यका लागि मङ्सिर ७ गतेदेखि र अन्य व्यवसायीका लागि मङ्सिर ११ गतेदेखि स्टल बुकिङ खुला गरिने संघले जनाएको छ ।
महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । सुगम सङ्गीत कार्यक्रममा सहभागी हुन २०० रुपैयाँको टिकट लिनुपर्नेछ ।
आयोजकका अनुसार महोत्सवबाट एक करोड पाँच लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खर्च कटाएर २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । उक्त रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गरिने जनाइएको छ ।
महोत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न १० जना निर्देशक, ५५ जना सल्लाहकार, ५० जना उपसमिति संयोजक, ९० जना कार्यसम्पादन समिति सदस्य, १२० जना मूल समारोह समिति सल्लाहकार र ३०० जना मूल समारोह समिति सदस्य रहने गरी विभिन्न समिति गठन गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिका तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले नेपाली उद्योगले उत्पादन विस्तार गरे आयात प्रतिस्थापन गर्न सकिने बताउनुभयो ।
उहाँले एग्रो थाई फुड्सले नेपालमै उत्पादन सुरु गरेपछि ऊर्जा पेय पदार्थको आयातमा खर्च हुने करिब एक हजार करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बचत भएको दाबी गर्नुभयो । कम्पनीले पाँचवटा उत्पादन प्लान्ट स्थापना गरेको जानकारी दिँदै उहाँले यसबाट तराईका उखु उत्पादक कृषक लाभान्वित हुनुका साथै विद्युत् खपत वृद्धि र हजारौँ युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गर्दै महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले महोत्सवमा सक्रिय सहभागिताका लागि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गर्नुभएको थियो ।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् । सहआयोजकमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक तथा एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर इनर्जी ड्रिङ्क) मुख्य प्रायोजक रहेका छन् ।
