नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताउनुभयो । उहाँका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो,“त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ ।”

लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा.भुसालले बताउनुभयो । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ ।

त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उहाँको भनाइ छ । धेरै सेवाग्राहीले ‘अनुमतिपत्र कहिले खुल्छ’ भन्दै विभागमा चासो राखेपछि सम्बन्धित प्रदेशमा नै बुझ्न भनिएको बताइन्छ ।

Comments
Loading...