प्रादेशिक क्रिकेट : तनहुँद्वारा स्याङ्जा पराजित

हिमाली आवाज । गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङ्जालाई ११ रनले पराजित गरेको छ ।

टस जितेको स्याङ्जाले क्षेत्र रक्षण रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन बनाउनुभयो ।

स्याङ्जाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिनुभयो भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल र सुजन गौतमले एक एक विकेट लिनुभयो । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

स्याङ्जाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रनको योगदान दिनुभयो । तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ्ग र चन्द्रकान्त पौडेलले दुई दुई विकेट र विनय भण्डारीले एक विकेट लिन सफल हुनुभयो ।

ब्याटिङ्गतर्फ १७ रन तथा बलिङ्गतर्फ २ विकेट लिनुभएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच बन्नुभयो । उहाँलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गर्नुभएको थियो । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्नेछन् ।

 

Comments
Loading...