गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन

हिमाली आवाज । पोखरामा गत पुस ३ गतेदेखी सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ ।

गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आजको अन्तिम खेलमा कास्कीले नवलपुरलाई ८६ रनले पराजित गर्न सफलभएसँगै कास्की प्रतियोगिताकोे विजेता बनेको हो ।कास्कीले लिग गन्र्तगतका तीनवटै खेलमा जीत निकाल्दै प्रतियोगिताको विजेता बन्न सफल भयो ।
खेलमा टस जितेको नवलपुरले बलिङ रोजेपछि व्याटिङ शुरु गरेको कास्कीले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २०१ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले १२७ बलमा १० चौका सहित ७७ र सुवास भण्डारीले ३४ रन बनाउनुभएको थियो ।
नवलपुरको बलिङमा विशाल पौडेलले दुई तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक÷एक विकेट लिनुभयो ।
कास्कीमाथि जीतका लागि २०२ रनको लक्ष्य पछ्याएको नवलपुरले ११५ रनमा सम्पूर्ण विकेट गुमायो । नवलपुरका राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले २९ रन बनाउनुभएको थियो ।
कास्कीको बलिङमा विपिन खत्री र दिपेश खत्रीले तीन÷तीन विकेट लिनुभयो भने सुवास भण्डारीले दुई तथा अमृत गुरुङ्ग र देव शाहले एक÷एक विकेट लिन सफल हुनुभयो ।
प्रतियोगितामा तीन खेलमा आठ विकेट तथा ५३ रन बनाउनुभएका कास्कीका सुवास भण्डारीलले ‘उत्कृष्ट बलर’ साथै ‘म्यान अफ द सिरिज’को उपाधि पाउँदा कास्कीकै अर्जुन कुमाल ‘उत्कृष्ट व्याट्सम्यान’को उपाधि प्राप्त गर्नुभयो ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकूद्य परिषद्का सदस्य राजेशकुमार गुरुङ, क्षेत्रिय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताका ‘उत्कृष्ट ब्याटस्म्यान’ अर्जुन कुमाललाई राखेप सदस्य सदस्य गुरुङले नगद रु १० हजार पुरस्कार प्रदान गर्नुभयो । उहाँले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।
आयोजक गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्सन प्रजुले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा कास्की,तनहुँ,नवलपुर र स्याङ्जाले सहभागिता जनाएका थिए ।

Comments
Loading...