पोखरामा युवा संघको भेला ,हाम्रो पल्लाभारी हुन्छ, सबैको भकारी रित्तिन्छ : मुख्यमन्त्री गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघठनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ गण्डकीले आज पोखरामा आयोजना गरेको युवा भेलालाई सम्वोधन गर्दै उहाँले संसद विघठन सवैभन्दा लोकतान्त्रिक, संवैधानिक र गणतन्त्रात्मक कुरा रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,“बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले दिएको म्याण्डेट अनुुसार काम गर्ने वातावरण रहेन भने प्रधानमन्त्रीले नयाँ जनमतका लागि संसद भङ्ग गरेर निर्वाचन घोषणा गर्न सक्दछ, यो संसदीय मुल्य र मान्यताको कूरा हो । ”

मुख्यमन्त्री गुरुङले केपी ओली समूहनै नेकपाको आधिकारिक पार्टी हुने दावी गर्र्दै आफूहरुको पल्लाभारी हुने सूर्य चुनाव चिन्ह आफूहरुले पाएपछि सबैको भकारी रित्तिने बताउनुभयो ।

नेता गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीले गरेको सिफारिस लोकतान्त्रिक र संविधानअनुसार हुने भएकाले अब संसद पुनःस्थापना हुनै नसक्ने दावी गर्नुभयो । सरकार चलाउन आफ्नै दलबाट घेरावन्दी गरेर जनताले दिएको मतको अपमान गर्ने परिपाटी अन्त्य गर्नका लागि प्रधानमन्त्री ओलीले जनताबाट फैसला गराउन चाहेको उहाँको भनाई छ ।

नेकपाका केन्द्रीय सदस्य एवं युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले जनतामा गएर मत लिने कुरालाई गलत अर्थ लगाउन नहुने भन्दै सरकारको घोषणालाई अदालतले समेत साथ दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश मुडभेडको दिशामा जाने गरी आन्दोलन नगर्न विपक्षी पार्टीहरुलाई आह्वान गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य खगराज अधिकारीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन भई छाड्ने बताउँदै युवाहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्र मध्य १६ मा विजय हासिल गरेको बताउँदै अबको निर्वाचनमा सबै क्षेत्र जित्ने गरी लाग्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा सङ्घका सहसंयोजक रमेश पौडेलले शीर्ष नेताहरुको असहयोग र घेरावन्दीका कारण केपी ओली नेतृत्वको सरकारले अप्ठ्यारोमा पार्ने काम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापा, युवा सङ्घका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, युवा नेताहरु माधव बास्तोला,किरण पौडेल,बच्चनसिँह,विष्णुु पुन लगायतले गण्डकी प्रदेशका ११ वटै जिल्ला तथा स्थानीय तहमा युवा भेला गरी सङ्गठन विस्तारका कार्यक्रम शुरु गर्न आग्रह गर्नुभएको थियो ।

युवा भेला अघि पोखराको अमरसिँह चौरबाट शुरु भएको मोटरसाइकल ¥याली पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो ।

Comments
Loading...