घरदैलोमा नारायण कोइराला प्यानलःसंघमा लामो अनुभवले निर्वाचन जित्ने दावी

हिमाली आवाज । पोखरा रामबजारमा लालदिप स्टोर्स सञ्चालन गरिरहेका निरज थापा लामो समयदेखि पोखरा उद्योग बाणिज्य संघमा निस्क्रिय भएर बस्नुभयो । सामाजिक संस्थाको निर्वाचनमा राजनीतिक दलवल बढेपछि उहाँलाई संस्थाप्रति बितृष्णा बढ्यो । आईतबार नारायण कोईराला प्यानल सहित भोट माग्न जाँदा उहाँ खुशी हुँदै भन्नुभयो, ‘यो पटक राजनीतिक गन्ध देखिनँ । आस्थाको आधारमा एउटै भएपनि नारायणको प्यानलमा मैले त्यो स्वार्थ देखिनँ ।’

नारायण कोईरालाको टीमका सबै पुराना अनुहार भएकोले चुनाव जित्ने बताउनहुन्छ सत्कार ग्रोसरीका संचालक दिपकबहादुर थापा । उहाँले भन्नुभयो, ‘नयाँ सदस्यता लिएको केही वर्षमै ‘भाईटल’ पोष्ट खोज्नेहरुले हाम्रा समस्या बुझ्न सक्दैनन् । हाम्रो समस्या बुझेर समाधान गर्ने नारायण कोईराला कै प्यानल देखेँ ।’ बुद्धचोकमा ऋषि ब्रदर्स संचालन गरिरहनुभएका ऋषि सापकोटाको पनि यस्तै धारणा छ ।

पोखरा प्रदेशको राजधानी भएकै कारण पनि पोखरा उद्योग बाणिज्य संघले समग्र प्रदेशकै प्रतिनिधित्व गनुपर्ने र त्यसका लागि सक्षम ब्यक्तिले नेतृत्व गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो,‘पोखरा उद्योग बाणिज्य संघको अध्यक्ष भनेको प्रदेशकै आईडल हो । त्यसकारण सही व्यक्तिको हातमा नेतृत्व पुग्नुपर्छ,’।

महासचिव पदका उम्मेदवार सुरेन्द्रमान विजुक्छे व्यक्तिवाद त्यागेर समूहगत निर्णयमा ध्यान दिने र उद्योग वाणिज्य संघमा प्रणालीको विकास गर्ने बताउनुहुन्छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री हुनुहुन्छ ।

सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार हुनुहुन्छ ।

यसैगरी एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बन्नुभएको छ । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ । पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आगामी पुस २४ र २५ गते महाधिवेशन हुँदैछ ।

Comments
Loading...