संसद् विघटन अस्थिरताको विजारोपण : सांसद बराल

हिमाली आवाज । संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अस्थिरताको विजारोपण गरेको गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले बताउनुभएको छ।

सोमवार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्नपूर्ण गाउँपालिकाको बैठकलाई सम्बोधन गर्दै सांसद बरालले सो कुरा बताउनुभएको हो।
उहाँले संसद् विघटनले कोही पनि नेपाली खुशी नभएको तर्क गर्दै उक्त कदमलाई राजनैतिक, कानुनी र सडक प्रर्दशन मार्फत दवाव दिई फिर्ता गर्नुपर्ने बताउनुभयो।

सांसद् बरालले निर्वाचन लोकतन्त्रको अभिन्न अङग भएपनि विना समयको निर्वाचनको कुनै अर्थ नरहने प्रष्ट पार्नुभयो।यदी निर्वाचन नै गर्ने हो भने दुई, दुई महिनाको अन्तरालमा गरौ न भन्दै उहाँले प्रधानमन्त्री ओलीको कदम बिरुद्घ व्यङग्य समेत गर्नुभयो।

अन्तराष्ट्रिय शक्ति केन्द्रको आँडका प्रधानमन्त्री ओलीले नेपाली कम्युनिष्ट आन्दोलन र समग्र नेपालको भविष्यलाई धोका दिने गरी असंवैधानिक कदम चालेको उहाँको निष्कर्ष छ ।आफ्नो विचार माथि प्रहार हुँदा चुप लागेर बस्नु अझै खतरनाक हुने उहाँले जनाउनुभयो।

उक्त बैठकमा गाउँपालिका अध्यक्ष धर्मबहादुर गुरुङ, उद्योग विभागका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, प्रदेश कमिटी सदस्य केशव पौडेल, जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी, दुर्गा भण्डारी गाउँपालिका सदस्यहरु अर्जुनबहादुर केसी, भेषराज पौडेल, जवानसिंह केसी, होमनाथ अधिकारी, हरीमाया अधिकारी तिमिल्सिना, वडा नं. १ का अध्यक्ष सूर्य परियार लगायतले पनि धारणा राख्नुभएको थियो।

उहाँहरुले पार्टीलाई एकताबद्घ बनाउनुपर्ने, राजनैतिक मिसनबाट विचलित हुन नहुने, असवैधानिक कदम विरुद्घ आवाज उठाउनुपर्ने, संकटको बेला कार्यकर्ता खुल्नुपर्ने, कम्युनिष्ट आन्दोलनलाई धोका दिन नहुने लगायतका भनाई राख्नुभएको थियो ।कार्यक्रमका बीच अन्तर पार्टी निर्देशन ७ बारे जानकारी पनि दिइएको थियो।

गाउँपालिका अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिका सदस्य अर्जुनबहादुर केसीले संचालन गर्नुभएको थियो।

Comments
Loading...