भैरहवा भन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम राम्रो : मन्त्री ढकाल

हिमाली आवाज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ ।

पर्यटनमन्त्री भएपछि भैरहवामा निर्माणाधीन लुम्विनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन भ्रमणका राजधानी बाहिर निस्कनुभएका मन्त्री ढकालले पोखरा विमानस्थलको निरीक्षणपछि यहाँको काम तुलनात्मक रुपमा सन्तोषजनक रहेको बताउनुभयो । उहाँले भैरहवाको तुलनामा पोखरा विमानस्थलको काम तीव्र र राम्रो गरी अघि बढेको पाएको उल्लेख गर्नुभयो ।

मन्त्री ढकालले विमानस्थलको रनवे,टर्मिनल भवन सहित निर्माणाधीन १४ वटा भवन, ट्याक्सी पार्किङ लगायतका संरचना तथा हालसम्मको प्रगतिका बारेमा उहाँले जानकारी लिनुभएको थियो ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, निर्माणमा विद्यमान समस्या लगायतका बारेमा मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो । आयोजनाका अनुसार हालसम्म विमानस्थलको ७० प्रतिशत भौतिक तथा ५० प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।
हालसम्मको कामको प्रगति तुलनात्मक रुपमा उत्साहजन रहेको बताउँदै उहाँले निर्धारित समयभित्र सम्पन्न गर्ने योजना रहेपनि धेरै विलम्व नहोस् भनेर सचेत रहेको उल्लेख गर्नुभयो । सरकार भैरहवा र पोखरा विमानस्थलाई छिटो सञ्चालन गर्न सकियोस् भनेर केन्द्रीकृत रुपमा लागको समेत मन्त्री ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“राज्यको तर्फबाट ध्यान नपुगेका कारणले विलम्व भएको कुरालाई राज्यको तर्फबाट यथाशीघ्र समस्या हटाउन पहल गरिने छ । यससँगै जोडिएका अन्य विषयलाई समेत समयक्रममा आफ्नो पहलबाट सम्भव भएसम्म निर्धारित समयभित्र प्रयोगका लागि हामी लाग्छौँ ।”
मन्त्री ढकालले विमानस्थल निर्माण कम्पनीलाई आयोजना कार्यान्वयन गर्नका लागि प्रेरित र सहजीकरण गर्ने र राज्यका तर्फबाट अप्ठ्यारो भएको छ भने त्यसलाई समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले निर्धारित मिति सन् २०२१ जुन १० भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर रनवे,ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग(एस्सेस रोड), सिँचाई नाला, पानी बाहिर पठाउने(आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ ।

त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन,एटिसी टावर, लगायतका विभिन्न १४ वटा भवन, ह्याङ्गर लगायतको सिभिल संरचना र कङ्क्रीट संरचनाको काम सकिएर डेकोरेसन र फनिसिङ भइरहेको र विदेशी कामदार आएलगत्तै उपकरण जडानको काम शुरु हुने स्पष्ट पार्नुभयो ।

विमानस्थल नजिकको रिठेपानी डाँडा कटान,हालको ल्याण्डफिल्ड साइट स्थानान्तरण, आयल निगमको इन्धन डिपोको व्यवस्थापन लगायतका केही समस्या अझै पनि हट्न नसकेकोतर्फ आयोजना प्रमुख मुनंकर्मीले मन्त्री ढकालको ध्यानाकर्षण गराउनुभएको थियो ।

Comments
Loading...