पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ पुरस्कृत

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ आज पोखरामा पुरस्कृत हुनुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले अध्यक्ष श्रेष्ठलाई ‘तीर्थ सागर स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट नगद सहित पुरस्कृत गरेको हो ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई पुरस्कृत गर्नुभयो । सोही कार्यक्रमा अध्यक्ष श्रेष्ठले पुरस्कार अर्पण गरेर पत्रकारिताप्रतिको सम्मान प्रति आभार व्यक्त गर्दै पुरस्कार बापतको रकम प्रतिष्ठानले सञ्चालन गरिरहेको कलाकार कल्याणकारी कोषका लागि हस्तान्तरण गर्नुभयो । कार्यक्रमा रनबहादुर स्मृति कलाकार पुरस्कारबाट म्याग्दीका लोक गायिका धनकुमारी थापा सम्मानित हुनुभयो ।

कार्यक्रममा गत वर्षको चर्चित लोक गीत ‘आँधी खोलामा के ल्याइदिउँ कोशेली भिर्ने झोलामा’ बोलको गीतका गायिका सरस्वती लामिछाने, गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष सञ्जीवबहादुर कोइराला,सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रष्ठिान अन्तर्गतका उत्कृष्ट जिल्ला शाखा, प्रतिष्ठानको राष्ट्रिय महाधिवेशनमा विभिन्न उपसमितिका संयोजक, स्नातकोत्तर उत्तीर्ण कलाकार, लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख शेरचनले लोक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरेकाले यसको जीवन्त विकास हुनु आवश्यकता औँल्याउनुभयो ।

“नेपाली जनताको वास्तविक संस्कार र संस्कृति लोकदोहोरीले विश्वमा परिचित गराएको छ ।” प्रदेश प्रमुख शेरचनले भन्नुभयो,“सबै समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात प्राचिन नेपाली लोक संस्कृतिको संरक्षण गर्न सबै पक्ष लाग्नु आवश्यक छ ।”

कलाकारहरुले गीत सङ्गितका माध्यबाट जनता र देशले भोग्नु परेका समस्या समाधानमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उहाँले वैदेशिक हस्तक्षेप रोक्ने र देशभक्तिपूर्ण गीत सङ्गितमा जोड दिनुपर्ने भनाई राख्नुभयो ।

प्राज्ञ हरिदेवी कोइरालाले प्रतिष्ठानले कलाकारको मर्म,पीडा र व्यथामा मलम लगाउने काम गरेको बताउँदै कलाकारहरुले गीतको माध्यमबाट समाज रुपान्तरणको काममा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा अग्रज लोक दोहोरी गायक एवं प्रतिष्ठानका पूर्व अध्यक्ष पुुरुषोत्तम न्यौपाने, गण्डकी संयोजक जीवन दाहाल, संरक्षक याम गुरुङ, प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, सचिव राजन कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...