पोखरामा हुने ‘टाइगर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

हिमाली आवाज । पोखरामा यही माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता”को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा न्यू डाइमण्ड एकेडेमी काठमाडौँले प्रतिष्पर्धा गर्नेछन् भने पुरुषतर्फ आयोजक गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताका माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिनुभयो ।प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर रु १०० तोकिएको छ भने सेमिफाइनलका लागि रु १५० र फाइनल खेलका लागि २०० रहेको छ ।

वर्षभरी नियमित खेलकूद प्रतियोगिता भइरहने पोखरामा कोरोना भाइरस(कोभिड–१९) पछि लामो समय खेलकूद गतिविधि ठप्प रहेको थियो । गत मङ्सिर पहिलोसातादेखी सरकारले खेलकूद क्षेत्र खुला गर्ने निर्णयपछि यहाँ खेल प्रशिक्षण शुरु भएकामा विस्तारै प्रतियोेगिताहरु शुरु हुन लागेपछि खेलाडी तथा खेलप्रेमी उत्साहित भएका छन् ।

कोरोनाले फुटबल, भलिबल लगायत खेलका प्रतियोगिता करीव नौ महिना रोकिएकामा माघ अन्तिमदेखी रङ्गशालामा प्रतियोगिताका धमाधम मिति तोकिएकाले खेलकूद चहलपहल बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले बताउनुभयो ।

Comments
Loading...