‘पर्यटन र पत्रकारिताबीच निकट सम्बन्ध’

हिमाली आवाज । अग्रज पत्रकार एवं राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले पर्यटन र पत्रकारिताबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेशद्वारा आज तनहँको पर्यटकीयस्थल आँधिमुलमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सञ्चारकर्मीले समाचार सम्प्रेषणका माध्यमबाट ओझेलमा परेका गन्तव्यको उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कुनै पनि पर्यटकीयस्थलको समाचार सम्प्रेषण गर्दा त्यसको पृष्ठभूमिका साथै त्यसका लागि आवश्यक पर्ने तथ्यहरू समेट्नुपर्नेमा जोड दिँदै बस्नेतले सञ्चारकर्मीहरू नियमित रुपमा अद्यावधिक हुनुका साथै सूचनास्रोतबारे जानकार बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता राजु शाक्यले प्रत्येक पर्यटकीय स्थलको प्रवद्र्धनका लागि त्यसको ऐतिहासिक एवम् सांस्कृतिक पक्षलाई सँगसँगै ल्याउनुपर्ने बताउनुभयो । हातमा सूचना हुने शक्तिशाली हुने चर्चा गर्दै उहाँले समयसापेक्ष रुपमा प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पर्यटन प्रवद्र्धनमा गण्डकी प्रदेश सरकारले जोड दिएको बताउँदै आँबुखैरेनी गाउँपालिकाका आँधिमुल, छिम्केश्वरी लगायतका पर्यटकीय स्थलको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा आँधिमुल, छिम्केश्वरी लगायतका पर्यटकीय गन्तव्य रहेको बताउँदै यसको उजागरका लागि सञ्चारकर्मीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

आदिवासी जनजाति पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष एमवि आस्थाले गण्डकी प्रदेशको मुल ढोका आँबुखैरेनीको पर्यटकीय सम्भावनाको उजागरका लागि फोनिज गण्डकी प्रदेशका तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटनविज्ञ हरिसिंह गुरुङ, फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर तमु, महासचिव रुद्र श्रीस, आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठ, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं १ का वडाअध्यक्ष किसन थापा लगायतले आँधिमुल सहित गाउँपालिका भित्रका पर्यटकीयस्थलले धेरै सम्भावना बोकेको बताउँदै त्यसको उजागरका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

Comments
Loading...