पोखराको शहीद स्मृति विद्यालयमा जनयुद्घका सहिदको स्मरण

हिमाली आवाज । गण्डकी प्रदेशमा आज एक कार्यक्रमका बीच तत्कालिन माओवादी जनयुद्घका सहिदको स्मरण गरियो। सहिद सप्ताहको अवसर पारी पोखराको मझेरीपाटन स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयको आयोजनामा कार्यक्रम गरिएको हो ।

तत्कालिन माओवादी जनयुद्घका प्रथम सहिद गोरखा निवासी दिलबहादुर रम्तेल तथा झापा विद्रोहमा(सुखानी) शाहदत प्राप्त रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, नारायण श्रेष्ठ र बीरेन राजबंशीको स्मृतिमा वार्षिक रुपमा फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाइदै आइएको छ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले सहिद परिवारको त्यागमा कारण नेपालमा ठुल्ठुला परिवर्तन आएको चर्चा गर्दै प्राप्त उपलब्धी रक्षाका लागि पनि निरन्तर संघर्ष गरिरहनुपर्ने बताउनुभयो । अझैपनि राज्यको मूल प्रवाहले सहिद, बेपत्ता, घाइते परिवारलाई उचित सम्मान गर्न नसकेको उहाँको भनाई थियो।

गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहिदको बलिदानीका कारण देशमा धेरै उपलब्धी हासिल भएको जनाउँदै बेपत्ता परिवार, घाइते, अपाङ, लोपोन्मुख जातिलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सासद् एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि अधिकारी, वेपत्ता परिवार सदस्य तेजकुमारी पौडेल, विद्यालयका प्रधानाध्यापक मोना गिरी, विद्यार्थीहरु सरिता भण्डारी र मनोज धामी, शिक्षक सचिन सुवेदी लगायतले शहिदको योगदानको कदर हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई फलफूल पनि वितरण गरियो ।

Comments
Loading...