मनकारी जनप्रतिनिधि गुरुङ : जसले कोरोना खोप लगाउने बृद्धबृद्धालाई निःशुल्क गाडीको व्यवस्था गरे

हिमाली आवाज । कोरोना महामारीले समग्र विश्व प्रभावित बन्यो । झन्डै एक वर्ष विश्वका नागरिक कोरोना त्रासमा बाँच्न बाध्य बने । विस्तारै कोरोना खोप आएर नागरिकले खोप लगाउन पाएका छन् ।

नेपालमा पनि सरकारले यही फागुन २३ गतेदेखी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोपको व्यवस्था गरेर खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले सम्बन्धित बडाको स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरेपनि दुर्गम गाउँमा ज्येष्ठ नागरिकलाई खोप केन्द्रसम्म पुग्न असुविधा भयो ।
यस्तै विकट गाउँका ज्येष्ठ नागरिकलाई खोप केन्द्रसम्म आउन समस्या देखिएपछि कास्कीका एक मनकारी जनप्रतिनिधि सूर्य गुरुङले ज्येष्ठ नागरिकलाई निःशुल्क बसको व्यवस्था गर्नुभएको छ ।

नेकपा एमालेकातर्फबाट माछापुच्छ«े गाउँपालिका वडा नं १ को वडासदस्यमा निर्वाचित सूर्य गुरुङले वडाका दुर्गम भेगका बृद्धबृद्धालाई माछापुच्छ्रे स्वास्थ्य चौकी टुसेसम्म खोप लगाउन आउन जान निःशुल्क व्यवस्था गर्नुभएको हो । वडासदस्य गुरुङले आफूले जनप्रतिनिधि भए बापत प्राप्त भत्ताबाट ज्येष्ठ नागरिकका लागि सो सहयोग उपलव्ध गराएको बताउनुभयो ।

वडा नं १ का दुर्गम साँदल, ज्यामिरबारी,कपुचे, करुवा, भलाउँदी, छिवाङ, रुम्जा तथा धिप्राङबासीलाई खोप केन्द्रसम्म आउन जान बसको व्यवस्था गरेपछि बुद्धबृद्धा खुःशी भएका थिए । करिब १०० जना बृद्धबृद्धाले खोप लगाउन आउँदा गाडीको सुविधा प्राप्त गरेको बताइन्छ ।

“कोभिड–१९ मानवको शत्रु हो । नेपाल सरकारले जनतालाई निःशुल्क खोपको व्यवस्था गरेको छ तर विकट गाउँमा नागरिकलाई खोप लगाउन आउन समेत समस्या भएपछि निःशुल्क गाडीको व्यवस्था गरेको हुँ ।”गुरुङले भन्नुभयो,“ जनप्रतिनिधिको सुविधा पनि जनताको हितमा लगाउने योजना अनुसार सो सहयोग गरेको हुँ । जनताको सेवा गर्छु भनेर चुनावमा भनेको थिएँ सोही अनुसार काम गरिरहेको छु । आगामी दिनमा पनि सेवा मूलक काममा निरन्तर लागि रहन्छु ।”

वडासदस्य गुरुङले खोप केन्द्रमा आउनेहरुलाई जुसको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।बृद्धबृद्धाका लागि राम्रो काम गरेको भन्दै स्वास्थ्य चौकीले गुरुङलाई सम्मान समेत गरेको थियो ।

वडा सदस्य निर्वाचित हुनुअघि पनि गाउँमा सामाजिक कार्यमा गुरुङ सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो स्व आमाको स्मृतिमा रु आठ लाख खर्चमा गाउँमा ११ कोठाको शौचालय निर्माण लगायतका काम गरेको बताउनुभयो ।

साविक माछापुच्छ्रेलाई खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम अन्तर्गत गुरुङको अगुवाइमा सुपरीवेक्षण तथा खानेपानी कार्यालयको लगानीमा एक घर एक धारा तथा एक घर एक शौचालय कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिएको थियो ।

एक्यापको सदस्य समेत रहनुभएका गुरुङले विसं २०६९ मा रु दुई लाख ३० हजार सहयोगमा ३९ घरमा धारा निर्माण गरेको जानकारी दिनुभयो ।

 

Comments
Loading...