पोखरामा शनिबार महिला पुरुष १० किमी दौडको आयोजना

हिमाली आवाज । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा चैत १४ गते शनिवार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको छ ।

१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चले जनाएको हो । उक्त दौड अन्तर्गत पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकहरुले नाम दर्ता गराएको मञ्चका द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त दौड अन्तर्गत पुरुषतर्फ ४ सय ७५ जना भन्दा वढीले नाम दर्ता गराएका छन भने महिला तर्फ ८० जना रहेका छन । दौडको शुभारम्भ तथा विजयी खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले अपर्ण गर्ने कार्यक्रम तय भइ सकेकोको मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङले जानकारी दिनुभयो ।

विश्वभर कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजिवन सदस्य तथा स्वास्थ्य समितीका संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामी निकै सजग छौं र स्वास्थ्यका मापदण्ड अपनाएका छौं भने सहभागी खेलाडीहरुलाई समेत यसबारे सचेत गराएका छौं ।”

प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान नगद रु १५–१५ हजार, दोश्रोले १०–१० र तेश्रोले ७–७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरी दौडतर्फ ३०० जना धावकहरुलाई उनीहरुले दौड पुरा गरेको क्रमशंख्याको आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Comments
Loading...