संकटा क्लबलाई पहिलोपटक आहा ! रारा गोल्डकप फुटबलको उपाधि

–कृष्ण दवाडी
हिमाली आवाज । पाहुना टोली अफ्रिकन रुट्स एशोशिएशनलाई पराजित गर्र्दै सङ्कटा क्लब पोखरामा सञ्चालन भएको मोेफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’को च्याम्पियन बनेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही चैत २१ गतेदेखी पोखरा रङ्गशालामा सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा आजको फाइनल खेलमा ‘ए’ डिभिजनको क्लब सङ्कटाले टाइब्रेकरमा अफ्रिकन रुट्सलाई ४–२ गोल अन्तरले पराजित गरी पहिलो पटक आहा राराको उपाधि उचाल्न सफल भयो ।

आहा ! रारा गोल्डकपमा पाँच पटक सहभागिता जनाएको संकटा यसअघि सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । पहिलोपटक फाइनलमा स्थान बनाएको संकटाले पोखराको मैदानमा उपाधि जितेर नयाँ विजेता बन्दै इतिहास कायम गरेको छ ।

फाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुबै टोलीबाट समान १–१ गोलको बराबरी भएपछि विजेताको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुट आउटमा सङ्कटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुश घलानले गोल गर्न सफल हुनुभयो । कप्तान सरोज दाहालको प्रहार विपक्षी टोलीका गोल किपर माङ्गाले रोक्नुभयो ।

अफ्रिकन रुट्सका तर्फबाट के यानिङ र र रिमको प्रहारमात्र गोलमा परिणत भएको थियो । कुइटीको प्रहार पोल बाहिर गएको थियो भने आर एमबाकोपको प्रहार सङ्कटाका किपर राजाबाबु थापाले गोल हुनबाट बचाउन सफल हुनुभएको थियो ।

खेलको शुरुआती ११ औँ मिनेटमा पाहुना टोली अफ्रिकन रुट्सले अग्रता बनाएको थियो । विपक्षी टोलीका डिफेण्डरले डि बक्स नजिक रोक्न नसकेको बललाई अघि बढाउँदै अफ्रिकन रुट्सका बासिकले पेनाल्टी क्षेत्रबाट दोस्रो बार च्याप्दै प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
खेलमा फर्किन निरन्तर सङ्घर्ष गरेको सङ्कटाले एक पछि अर्को प्रयास गरेपनि सफल हुन सकेन । खेलको ५१ औँ मिनेटमा संकटाले बराबरी गोल फर्कायो । संकटाका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै टोलीलाई खेलमा फर्काउन सफल हुनुभएको थियो ।

खेलको नियमित तथा थप गरिएको समयमा समेत दुबै टोलीले गोलका लागि संघर्ष गरेपनि खेलमा थप गोल भएन र पेनाल्टी सुटआउटबाट विजेताको टुुङ्गो लगाइएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सङ्कटाका गोल किपर राजाबाबु थापाले अप्रिला स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । उहाँ प्रतियोगिताको उत्कृष्ट गोल किपर समेत घोषित हुँदै नगद रु २५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्न सफल हुनुभयो ।

यसैगरी उत्कृष्ट मिडफिल्डर अफ्रिकन रुट्सका रिम, उत्कृष्ट फरवार्ड अफ्रिकन रुट्सका बासिक, डिफेण्डर संकटा क्लबका निरज बस्नेत र प्रशिक्षक अफ्रिकन रुट्सका सरजि बोरिस घोषित हुँदै जनही रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो ।

विजेता र उपविजेता टोली तथा सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, मुुख्य प्रायोजक हिमश्री फुड्का निर्देशक प्रकाश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

उपाधि बजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले शारीरिक रुपमा अग्ला र बलियो विपक्षी टोलीका खेलाडीसँग आफ्ना खेलाडीले कडा मिहिनेत गरेर रणनीति अनुसार खेलेर सफलता मिलेको बताउनुभयो ।राजधानी बाहिरको प्रतिष्ठित गोल्डकपको ट्रफी पहिलोपटक उचाल्न पाउँदा खुःशी लागेको उहाँको भनाई छ ।

उपविजेता अफ्रिकन रुट्सका प्रशिक्षक बोरिसले विपक्षी टोलीले राम्रो खेल खेलेको र फाइनल प्रतिस्पर्धा कडा भएको टिप्पणी गर्नुभयो ।

Comments
Loading...