मर्दी पदयात्राको फेरिएको रुप : भैँसीगोठलार्ई विस्थापन गर्दै भरिभराउ सुविधासम्पन्न होटल

–वासुदेव पौडेल
हिमाली आवाज । झण्डै डेढ दशक अघि कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ९ सिदिङका युवा सुदिप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन गर्न लाग्दा उहाँका छिमेकी तथा आफन्तले अनौठो मान्थे । कतिपयले त त्यतिवेला गौतमलाई उपहासको पात्र समेत बनाए । समयको गति सँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवाहरू मर्दी पदयात्रा मार्गमा सुदिपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभै मर्दी पदयात्रा मार्गका फोरेष्ट क्याम्प, लो क्याम्प, बादल डाँडा, डुँड खर्क लगायतका कुनै पनि स्थानमा होटेल थिएनन् ।
पदयात्रा मार्गमा डेढ दशकअघिसम्म केवल भैंसीगोठ मात्रै रहेको ७१ वर्षीय टेकबहादुर गुरुङले अनुभव सुनाउनुभयो । आँफू ३५ वर्षको हुँदा पदयात्रा मार्गको कोकारमा रहेको भैंसीगोठमा आएका एक जना विदेशी पदयात्रीले चियाको केटली बसाल्न भनेको कुरा स्मरण गर्दै गुरुङले त्यस समयमा पदयात्रामा आउने पर्यटक केबल क्याम्पिङका भरमा रात कटाउने गरेको बताउनुभयो । त्यस पछि आँफूले चियापसल सुरु गर्नुका साथै भैंसीगोठलाई पर्यटक बस्ने ठाउँका रुपमा विकास गरेको उहाँले बताउनुभयो ।
“मर्दी पदमार्गमा यतिका पर्यटक आउलान् भन्ने मैले सोचेकै थिइन”, उहाँले भन्नुभयो, “मर्दी पदयात्रामा पछिल्ला वर्षमा बढेको आकर्षणले हामीहरूलाई निकै खुसी बनाएको छ ।”
तत्कालिन समयमा क्याम्पिङमा बसेका पर्यटकका लागि पिउने पानीको निकै दुःख रहेको बताउँदै उहाँले झण्डै डेढ घण्टा पानी बोकेर ल्याउँनुपर्ने विवशता रहेको सुनाउनुभयो । आँफूले भैंसीगोठ राखेको कोकारको नाम जंगलका बीचमा रहेका कारण पछिल्ला वर्षमा फोरेष्ट क्याम्पका रुपमा चिनिएको उहाँले बताउनुभयो । कोकार गुरुङ भाषाको शव्द हो । यसको अर्थ सुकेको रगत भन्ने हुन्छ । भैंसीगोठलाई विस्थापन गर्दै होटेल बनेको यस ठाउँमा परापूर्व कालमा राजरजौटाबीच लडाइँ भएको र त्यहाँ रगत सुकेको किंवदन्तीका आधारमा यसको नाम कोकार भएको हुनसक्ने अनुमान गरिन्छ । यही फोरेष्ट क्याम्पमा अहिले १२ वटा होटेल सञ्चालनमा आइसकेका छन् ।
गुरुङ जस्तै अर्का ७१ वर्षीय होमबहादुर क्षेत्री पनि भैंसीगोठको ठाउँ होटेलले लिएको देख्दा दंग हुनुहुन्छ । हिमालयन इन्काउन्टर नामक टे«किङ कम्पनीबाट आएका पदयात्रीहरू क्याम्पिङ गर्दै धेरै वर्षसम्म यस क्षेत्रमा पदयात्रा गरेको उहाँले बताउनुभयो । बढ्दो पर्यटकको आगमनसँगै पानीको चरम दुःख भए पछि २०६७÷०६८ तिर पानीका लागि एक्यापलाई निवेदन दिएको बताउँदै उहाँले पाइप पाइएसँगै पदयात्रा क्षेत्रको उनुदोबाट पानी ल्याएको जानकारी दिनुभयो । भैंसी गोठलाई विस्तारै पर्यटकको आगमनलाई लक्षित गरी सुविधासम्पन्न बनाउँदै जाँदा पछिल्ला वर्षको भैंसीगोठ पूर्ण रुपमा विस्थापन भई होटेलहरू सञ्चालनमा आएको अर्का स्थानीय भक्तबहादुर गुरुङले बताउनुभयो । खानेपानी, विजुली लगायतका समस्यालाई समाधान गर्न सकेमा यहाँ आउने पर्यटकलाई राम्रै सेवा सुविधा प्रवाह गर्नै सकिने उहाँको भनाइ छ ।
पोखरा—बागलुङ राजमार्ग अन्तर्गतको काँडेहुँदै मर्दी हिमालको पदयात्रा गर्ने पर्यटकले पहिलो रात फोरेस्ट क्याम्पमा विताउने गरेको उहाँले बताउनुभयो । फोरेष्ट क्याम्प दुई हजार ६०० मिटरको उचाइमा छ । यहाँ रात कटाएर भोलिपल्ट लगभग ६÷७ घण्टाको पदयात्रा पछि पदयात्री तीन हजार ५५० मिटर उचाइको मर्दी हाई क्याम्प पुग्दछन् ।
हाइक्याम्पबाट बिहान झिसमिसेमा उठेर पदयात्रीहरू चार हजार २०० मिटरको भ्यु पोइन्ट पुग्छन् । भ्युपोइन्ट पुग्ने पदयात्रीले सकेसम्म मर्दी हिमाल आधार शिविरसम्म पुग्नुपर्ने टान पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष एवम् होटेल एशिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवम् ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा चैतको १ गतेदेखि गरिएको चार दिने मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक कार्यक्रमका सन्दर्भमा उक्त क्षेत्रमा पुग्ने अवसर मिलेको बताउँदै उहाँले एक पटक पदयात्रा गर्नै पर्ने गन्तव्यका रुपमा आँफूले पाएको अनुभव सुनाउनुभयो ।
“पछिल्ला वर्षमा मर्दी हिमाल पदयात्रा जसरी आकर्षक गन्तव्य बनेको छ, त्यसरी नै यहाँ सुविधा सम्पन्न होटेल बन्ने क्रम पनि बढेको रहेछ”, – उहाँले भन्नुभयो, “बढ्दो पर्यटकको आगमनसँगै यस क्षेको वातावरणीय संरक्ष्णका साथै सरसफाईमा ध्यान दिनुपर्ने देखिन्छ ।”
कोरोनाले थलिएको पर्यटनलाई पुनरोत्थान गर्नका लागि यस्ता आकर्षक पदमार्गको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड सहित पर्यटनसम्बद्ध सबै संघ संस्था हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुराँस फुल्ने जङ्गलैजङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्छन् । यहाँबाट माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, हिडन लेक, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्न सकिने पर्यटन व्यवसायी एवम् फेवा ट्रेकिङ सप लेकसाइडका सञ्चालक महेन्द्र केसीले जानकारी दिनुभयो । हिड्न सक्ने व्यक्ति एक दिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकोले यसको पदयात्रा पर्यटन एवम् पर्वतीय पर्यटनमा विशेष महत्व रहेको उहाँले बताउनुभयो ।
कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गको हाइक्याम्पमा १३ वटा, फोरेष्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा नौवटा, बादल डाँडामा छवटा र डुँड खर्कमा तीनवटा होटेल सञ्चालनमा आइसकेका छन् ।
१९९० देखि २००७ सम्म पदयात्रा मार्गका विभिन्न स्थानमा भैंसी पालन गर्दै आएका व्यवसायीले क्याम्पिङ गरी बस्ने पर्यटकलाई सेवा प्रवाह गरिरहेकोमा त्यस यता भने भने ठूलै संख्यामा खुलेका होटेलले पर्यटकको चाहना अनुसार सेवा प्रवाह गरिरहेको होटेल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदिप गौतमले जानकारी दिनुभयो । मर्दी पदयात्रा आउने जो कोहीले खान बस्नको कुनै असुविधा भोग्नु नपर्ने बताउँदै मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका गौतमले पदमार्ग क्षेत्रको व्यवस्थापन, सरसफाई लगायतका विषयलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो ।
मर्दी पदयात्रामा जाने पर्यटकका लागि स्तरीय होटेलहरू सञ्चालनमा आएसँगै पदयात्राको रुचि राख्ने जो कोहीले उक्त क्षेत्रको पदयात्रा सहज रुपमा गर्न सक्ने पर्यटन व्यवसायी एवम् ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेशा) पोखराका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो । पदयात्रामा प्रयोग गरिने सामाग्रीको गुणस्तरीयताका लागि आँफूहरू सँधै सचेत तथा प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले यसको प्रभावकारिताका लागि २०५० सालदेखि टेशा कृयाशिल भएको जानकारी दिनुभयो ।

 

Comments
Loading...