बदलिँदो परिवेश र एक स्वास्थ्य अवधारणा

♦ डा.सुरेन्द्र कार्की
यही साता नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ४ मा ६७ भन्दा बढी लोपोन्मुख प्रजातिका गिद्धहरु एकै ठाउँमा अचानक मरेको समाचारहरु आयो । विस्तृत अध्ययन भएर यकिन कारण निश्चित हुन बाँकीनै भएपनि नजिकै मारेर फालिएका कुकुरहरु समेत पाईएको हुंदा विष हालेर मारिएको कुकुरको सिनो खाएको कारण प्रकृतिका कूचीकार ती गिद्धहरु मरेको हुन सक्ने प्रबल सम्भावना छ । यहाँ यो प्रसंग उल्लेख गर्नुको कारण के हो भने एउटा क्षेत्रमा गरिएका कार्यहरुको कारण अर्को क्षेत्रमा हामीले नसोचेको दुष्परिणाम समेत निम्ति रहेको हुन्छ ।

पशुपन्छी देखि मानिस सम्म एउटै धर्तीमा बाँच्ने हुंदा वातावारण विनाश र प्रदूषणको कारण निम्तिने जोखिमहरुको असर सबै प्राणी जगतलाई पर्दछ । यही घटनामा पनि एकातिर विष खुवाएर निर्दोष प्राणी कुकुरलाई मारी पशु कल्याणको धज्जी उडाई मानवीय संवेदना नै दाउमा राख्ने काम गरियो भने अर्कोतिर संरक्षित पन्छी गिद्धहरुको ठूलो क्षति भयो । प्रकतिमा आएका अन्य विविध परिवर्तनहरुका अलावा विगतमा भेटेरिनरी उपचारमा प्रयोग गरिने दुखाई कम गर्ने डाइक्लोफेनेक नामक औषधिको कारण लोपोन्मुख अवस्थामा पुगेका गिद्धहरुको वर्षौ लगाएर गरिएको संरक्षण कार्यहरुको उपलव्धी क्षणभरमै नाश भयो ।

यी घटनाहरुले के संकेत गर्दछन् भने मानिस, पशुपन्छी र वातावरणबीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ । एउटा प्रणालीको स्वास्थ्यले बांकी प्रणालीको स्वास्थ्यलाई समेत कुनै न कुनै रुपमा असर पु¥याएको हुन्छ । त्यसकारण पछिल्ला केही दशकदेखि मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई छुट्टा छुट्टै रुपमा भन्दा एकिकृत रुपमा हेर्नुपर्छ भन्ने अवधारणा बलियो बन्दै गईरहेको छ । यही अवधारणालाई एक स्वास्थ्य भनेर चिनिन्छ ।

अध्ययनहरुले के देखाएका छन् भने मानिसमा देखिने समग्र संक्रामक रोगहरुमध्ये करीब ६० प्रतिशत रोगहरु कुनै न कुनै रुपमा वन्यजन्तु वा घर पालुवा पशुपन्छीहरुमा उत्पत्ति भएर मानिसमा सरेको हुन्छ । यस्ता रोगहरुलाई जुनोटिक रोग भनिन्छ । अझ उदीयमान र पुनउदीयमान(इमर्जिङ्ग र रि इमर्जिङ्ग) संक्रामक रोगहरुमध्ये त करीब ७५प्रतिशतसम्म हिस्सा यस्ता जुनोटिक रोगहरुले ओगटेको विश्वास गरिन्छ । भौतिक विकासकोक्रमसंगै वनहरुको विनाश भई जंगलहरु खण्डीकृत हुंदा मानिस, वन्यजन्तु र घरपालुवा पशुपन्छीहरुको निकटता बढिरहेको छ । यस संगसंगै रोग गराउने किटाणुहरु समेत एकआपसमा सरिरहेका छन् । यस्ता किटाणुहरुमध्ये विशेष गरी केही भाइरस र जिवाणु (ब्याक्टेरिया)हरुले मानिसबाट मानिसमा सर्ने क्षमता विकास गरेको पाईन्छ । त्यसमध्ये पनि केहीले विश्वव्यापी महामारी गराएको ईतिहासमा देखिन्छ । अहिले फैलिइरहेको कोभिड १९ त्यस्तै एक उदाहरण हो ।

health

चमेरोमा उत्पत्ति भएको मानिएको सार्स–कोभ–२ भाइरस कुनै अज्ञात पशुपन्छीको माध्यमबाट मानिसमा सरेको अनुमान गरिन्छ जुन अझै अनुसन्धानकै चरणमा छ । विश्वव्यापी महामारीले जनस्वास्थ्यका अलावा कसरी अर्थतन्त्रका सारा अवयवहरु तहसनहस पारिदिन्छ र गरीबलाई झन् गरीब बनाईदिन्छ भन्ने कुराको प्रत्यक्षदर्शी हाम्रो आजको पुस्ता समेत हुन परेको छ । विगतमा पनि स्पेनिस फ्लु, बुबोनिकप्लेग, बिफर, हङ्गकङ्ग फ्लु, एड्स लगायतका ठूला ठूला महामारीहरुले मानवीय र आर्थिक क्षति पु¥याएको ईतिहास छ ।

ठूलो विश्वव्यापी महामारीको रुप लिन नसकेका तर त्यस्तो सम्भावना देखाएका कैयन रोगहरु समेत पछिल्ला दशकमा देखा परिसकेका छन् । यस्ता रोगहरुमा पश्चिम अफ्रिकामा देखिएको ईबोला, सार्स कोराना, मर्स कोराना, निफा भाइरस लगायतका भाइरसजन्य रोगहरु छन् । विश्वभरिनै विकास भएको हवाई यातायात संजालको कारण एक ठाउंमा उत्पत्ति भएको रोग पहिला भन्दा निकै सजिलै र छिटो तरिकाबाट अहिले विश्वभर फैलिन्छ । यसको कारण पनि विश्वको कुनै पनि कुनामा भएको समस्यालाई अहिले नजर अन्दान गर्न मिल्दैन ।

संक्रामक रोगहरुको अलावा अन्य कैयन स्वास्थ्य समस्याहरुमा समेत एक स्वास्थ्य अवधारणा उत्तिकै जरुरी हुन्छ । अहिले विश्वभरिनै एण्टिबायोटिक औषधीहरुको प्रभाव कारिता घट्दै गईरहेको छ । ब्याक्टेरियाहरुले एण्टिबायोटिक औषधीहरु विरुद्ध प्रतिरोध क्षमता विकास गरेको कारण यस्तो समस्या निम्तिएको हो । मानिस र पशुपन्छीमा जथाभावी एण्टिबायोटिक औषधिहरुको प्रयोग गरेको कारण र नयां समूहका एण्टिबायोटिक औषधिहरु पत्ता लगाउन भएको ढिलाईको कारण एण्टिबायोटिक प्रतिरोधको समस्या ट्डकारो रुपमा बढिरहेको छ । अहिलेको अनुमानमा विश्वभरि हरेक वर्ष करीब ७ लाख मानिसहरु एण्टिबायोटिक औषधीहरुले काम नगरेको कारण मृत्युवरण गर्न बाध्य भैरहेको भन्ने अनुमान छ । नियन्त्रणका प्रभावकारी उपायहरु नचाल्ने हो भने यो समस्या बढ्दै गएर सन् २०५० सम्ममा एण्टिबायोटिक औषधिहरुले कामनगरेको कारण हरेक वर्ष १ करोड मानिसहरुको मृत्यु हुने र करीब १०० ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने प्रक्षेपण गरिएको छ । यसको मारमा नेपालजस्ता कम विकसित राष्ट्रहरु बढी पर्नेछन् । त्यसकारण यस बहुआयमिक समस्याको न्यूनीकरणमा जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणका निकायहरुबीच सहकार्यको आवश्यकता छ ।

अहिलेको आधुनिक विश्वमा पनि रेबिज जस्तो पुरानो रोगको कारण विश्वभर विशेष गरी एशिया र अफ्रिकाबाट करीब ५९ हजार मानिसहरु मर्न परिरहेको छ । नेपालमा पनि हरेक वर्ष केही दर्जन मानिसहरु र केही सय पशुहरु रेबिज रोगको कारण मरिरहेका छन् । कुकुरको टोकाईबाट सर्ने रेबिजको हिस्सा कम गर्ने हो भने रेबिजबाट हुने ९५ देखि ९९ प्रतिशतसम्म मृत्युलाई घटाउन सकिन्छ । अहिले कुकुर र मानिसमा लगाउने प्रभावकारी खोप उपलब्ध छ र खोपको मार्फत कुकुरको टोकाईबाट सर्ने रेबिजलाई शुन्यमा झार्न सकिन्छ । सन् २०३० सम्म कुकुरको टोकाईबाट सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शुन्यमा झार्ने विश्वव्यापी लक्ष्य पनि रहेको छ । पशु स्वास्थ्यमा गरिने लगानीमार्फत जनस्वास्थ्यको सम्वर्धन गर्न सकिने कैयन रोग वा समस्यामध्ये रेबिजपनि एक हो । यिनीहरुको अलावा खाद्य सुरक्षणका सवालहरु लगायत मासु, दूध, फुलमा हुने एण्टिबायोटिकको अवशेष र तरकारी र बालीनालीहरुमा हुने पेस्टिसाइडहरुको अवशेषका समस्याहरुसँग जुध्न पनि एक स्वास्थ्यको आवश्यकता छ ।

एक स्वास्थ्य अवधारणालाई विश्वव्यापी रुपमा फैलाउन तीन ठूला अन्तरराष्ट्रिय संगठनहरु विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र विश्व पशु स्वास्थ्य संगठनले त्रिपक्षिय सम्झौता गरी सबै देशहरुसँग मिलिकार्यहरु गरिरहेका छन् । पछिल्लो क्रममा संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम समेत यसमा जोडिएको छ । नेपाल सरकारले समेत यसको महत्वलाई आत्मसात गर्दै एक स्वास्थ्य रणनीति २०७६ सार्वजनिक गरेको छ । आगामी दिनमा यस एक स्वास्थ्य रणनीतिलाई कार्ययोजनामा ढाली सबै सरोकारवालाहरुको सहभागितामा सफल कार्यान्वयन गरी जनस्वास्थ्यको सम्वर्धन गर्न जरुरी छ । यसको लागि तीनै तहका सरकारहरुले सबै सरोकारवालाहरुलाई परिचालन गर्न र लगानी समेत बढाउन आवश्यक छ ।
(डा.कार्की पशु चिकित्सक र ईपिडेमियोलोजी विषयमा विद्यावारिधि हुनुहुन्छ । हाल उहाँ संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन नेपालमा कार्यरत हुनुहुन्छ ।)

टिप्पणिहरु
Loading...