मादीका व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

हिमाली आवाज । कृषि व्यवसायमा यान्त्रिकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजना सहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षको कृषि तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हाते ट्याक्टर वितरण गरेको हो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले ट्याक्टर कृषकलाई वितरण गर्नुभएको हो ।

गाउँपालिकाको १ देखी १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा सङ्लग्न सङ्घ संस्थाबाट प्रश्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेकामा पहिलो चरणमा ‘सात हर्षपावर’का २४ वटा ट्याक्टर कृषकलाई उपलव्ध गराइएको उहाँले जानकारी दिनुभयो । प्रति ट्याक्टर रु ५४ हजार मुल्यमा कृषकहरुले ५० प्रतिशत साझेदारी गरेका छन् ।

अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायीक योजनाको मुल्याङ्कका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्याक्टर वितरणको योजना छ । जमिन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरु हाते ट्याक्टरतर्फ आकर्षित छन् ।

गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो,“कृषि व्यवसायलाई समयानुकुल परिर्वत गर्दै यान्त्रिकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन ,पूर्वाधार सहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ ।”

कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ ।

हाते ट्याक्टर सहित थ्रेसर, असिना छेक्ने जाली, प्लाष्टिक टनेल लगायतका कृषि औजार उपकरणमा अनुदान दिने कार्यक्रम कृषितर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“असिना छेक्ने जाली कृषकलाई उपलव्ध गराइसकेका छौँ भने प्लाष्टिक टनेल प्रदान गर्न बोलपत्र आह्वान लगायतका प्रक्रिया अघि बढाएका छौँ,छिट्टै मागका आधारमा कृषकलाई उपलव्ध गराउने छौँ ।”

Comments
Loading...