कृष्णचन्द्र नेपाली : शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

हिमाली आवाज । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुनुहुनन्छ ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उहाँको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उहाँ निष्ठा र त्यागको पर्याय हुनुहुन्छ ।

संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट होमिनुभयो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल हुनुभयो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।

एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो । प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिनुभयो कृष्णचन्द्र नेपाली पोखरेल ।

प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उहाँ हरसमय क्रियाशील रहनुभयो । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस संसदमा सशक्त आवाज उठाउनुभयो र सरकारलाई सच्चिन वाध्य बनाउनुभयो ।

कोभिडको महामारी नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै बारम्बार गराइएको ध्यानाकर्षण सरकारले वास्ता गरेन । १ घर १ पिसिआरदेखि प्रत्येक जिल्लामा पिसिआर मेसिन राख्नका लागि गरिएको माग सुनुवाई नभएपछि उहाँकै नेतृत्वमा प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो । प्राविधिक रुपमा संकल्प प्रस्ताव फेल भए पनि तत्कालीन समयमा कांग्रेसको एजेन्डा सही थियो । जुन विषय संसदका विशेष अधिवेशनले पुष्टि गरिदियो ।

बाबु गोबद्र्धनको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो । आमाबाट कृष्णचन्द्रले मातृवात्सल्य मात्र पाएनन् राजनीतिक संस्कार समेत सिक्नुभयो । २००६ साल मंसिर १३ गते जन्मेका उहाँ परिवारमा माइला छोरा हुनुहुनछ । जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुनुहुन्छ । जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसक्नुभएका उहाँ नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाउनुभयो । साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ । कान्छा भाइ डा. सुवाशचन्द्र अमेरिकामा बस्नुहुन्छ ।

प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवद्र्धन निर्वासनमा बसेका थिए । त्यति नै बेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उहाँले पनि पिताकै साथमा भारतमा निर्वाासित जीवन बिताउनुभयो । राजनीतिमा मात्र होइन लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहनुभयो । काभ्रे र तनहुँका स्कुलमा उहाँले लामै समय अध्ययापन गर्दै २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय हुनुभयो । जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उहाँलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो । त्यसपछि उहाँले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न रहनुभयो ।

विद्यार्थीकालदेखि नै कृष्णचन्द्रमा राजनीतिक चेत थियो । २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बन्नुभयो उहाँ । प्रजातान्त्रिक आन्दोलनकै क्रममा ६ पटक जेल पर्नुभयो । २०३५ सालको विद्यार्थी आन्दोलनमा उहाँ कास्की कारागारमा दुईपटक गरेर ५ महिना बिताउनुभएको छ । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बस्नुभयो । लामो समय कानुन व्यवसायमा आबद्ध उनी जनपक्षीय कानुनी सेवामा संलग्न रहनुभयो ।

Comments
Loading...