मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै, मत नपाए संसद् विघटन र मध्यावधि निर्वाचन

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज संसदमा विश्वासको मत लिुँदै हुनुहुन्छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम जेठ २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका नेपालीले धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनबाट नेपाली मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार सदनमा उहाँले आफूलाई सदनको विश्वास रहेको दावी सहित मत लिन लाग्नु भएको हो ।

विहान ११ बजे पछि बस्ने सदनमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएमा संसद विघटन भई गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ । विश्वासको मतका लागि गण्डकी प्रदेशका कूल ५९ सांसदको बहुमत अर्थात ३० सांसदको समर्थन आवश्यक हुन्छ ।

Comments
Loading...