गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता प्रदेशवासीलाई कोरोना खोप : मन्त्री आचार्य

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

समृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान कार्यक्रमको शुभारंभ गर्दै उहाँले खोपलाई प्राथमिकता दिदै, त्यसका लागि मुख्यमन्त्रीले संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभयो । मन्त्री आचार्यले एक दुई दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका विषयमा कुराकानी गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सार्वजनिक खरिद ऐनको पालना लगायतका कानूनले अप््ठयारो परेको बताउँदै, खोप खरिदका लागि जिटुजी प्रक्रिया वा के हुनसक्छ त्यसका लागि मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाण्डौं जान लाग्नु भएको समेत पार्नुभयो ।

सरकारले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निशुल्क गर्ने निर्णय गरेको उल्लेख गर्दै, कोरोना प्रभावितका लागि राहतका प्याकेज समेत ल्याउन छलफल चलिरहेको बताउनुभयो ।

सहकारी अध्यक्ष सुमन भट्टराईले कोरोनाले व्यवसायीहरु धरासायी बनेको उल्लेख गर्दै, अहिले व्यवसाय बचाउन भन्दा पनि व्यवसायीलाई बचाउनु पर्ने अवस्था आएको बताउँदै यथाशीघ्र खोपको व्यवस्था गर्न समेत प्रदेश सरकारसँग माग गर्नुभयो ।

मन्त्री आचार्यले पहिलो रक्तदाताका रुपमा लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लड व्याग हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । पावर जिम तालचोकका संचालक राजेश सुवालको नेतृत्वका युवाहरुले रक्तदान सहित कार्यक्रममा सहयोग गरेका थिए भने लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

रक्तसंचार केन्द्र पोखराको आब्हानमा सहकारीले आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यसअघि पनि संस्थाले केन्द्रको आब्हानमा रक्तदान कार्यक्रम आयोजना गर्दा ६१ जनाले रक्तदान गरेका थिए ।

Comments
Loading...