काँग्रेस वरिष्ठ नेता पौडेलले लिनुभयो क्रियाशील सदस्यताबारे जानकारी

हिमाली आवाज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ ।

समितिले हाल काम गरिरहेको तिलगङ्गास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले समितिले अहोरात्र खटेर काम गरिरहेको भन्दै कामको प्रशंसा गर्नुभएको समिति प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो । साथै उहाँले निर्धारित समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले क्रियाशील सदस्यताको काम समयमै टुङ्गो लगाउनसमेत निर्देशन दिनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।

समितिले हालसम्म १०७ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यतासम्बन्धी काम सम्पन्न भइसकेको र अन्य क्षेत्रको पनि निर्धारित समयमै सम्पन्न हुने जनाएको छ । कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि यही असार ३० गतेभित्र तोकेको छ ।

Comments
Loading...