गण्डकी प्रदेशका उत्कृष्ट कृषक नगद सहित पुरस्कृत

हिमाली आवाज । गण्डकी प्रदेशका उत्कृष्ट व्यावसायिक पशुपन्क्षीपालक कृषकलाई प्रदेश सरकारले नगद सहित पुरस्कृत गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार बुधबार प्रदेशका व्यावसायिक पशुपालक कृषकहरु मध्येबाट उत्कृष्ट १० कृषक छनोट गरी रु २० हजारका दरले पुरस्कार प्रदान गरेको हो ।

यसैगरी निर्देशनालयले प्रदेशका सर्वोत्कृष्ट कृत्रिम गर्भाधान कर्ता एक जना सात जना उत्कृष्ट कृत्रिम गर्भाधानकर्तालाई पनि पुरस्कृत गरेको छ ।
पशुपालनका माध्यबाट स्वरोजगार र रोजगारी सिर्जना तथा पशुजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन योगदान गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले बताउनुभयो ।

पेशाप्रतिको निरन्तरता,लगानी, वार्षिक आम्दानी,रोजगारी सिर्जना, पशुपन्क्षी सङ्ख्या आदिका आधारमा उत्कृष्ट छनोट गरिएको बताइन्छ ।
यस वर्ष उत्कृष्ट कृषक छनोट भई पुरस्कृत हुनेहरुमा गाई÷भैंसी पालनतर्फ बागलुङको श्रीकृष्ण गाईभैंसी फार्मका सञ्चालक कृष्णप्रसाद पौडेल,चौरी पालनतर्फ एस.चौरी पालन उद्योग मनाङका सुरेश थकाली, बाख्रा पालनतर्फ कास्कीको नया गाउँ बाख्रा फर्मका सञ्चालक दुर्गादत्त पौडेल, भेंडा तथा चौरी पालनतर्फ द बुकी भेंडा पालन व्यवसायका सञ्चालक विनोदप्रसाद तुलाचन हुनुहुन्छ ।

बङ्गुरपालनतर्फ कास्कीको पोखरामा सञ्चालित नेपाल लाइभस्टक एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालिका सरस्वती बस्ताकोटी, मासुका लागि कुखुरा पालनतर्फ तनहुँको छिम्केश्वरी पोल्ट्री फर्मका सञ्चालक रामबहादुर रसाइली, अण्डाका लागि कुखुरा पालनतर्फ कास्कीको बाराही पोल्ट्री फर्मका सञ्चालक राजु थापा छनोट हुनुभयो ।

ट्राउट माछापालनतर्फ कास्कीको माछापुच्छ«े ट्राउट फर्मका सञ्चालिका सीता गुरुङ, कार्प माछा पालनतर्फ तनहुँको धौलागिरी कृषि तथा पशु फर्मका सञ्चालक सुदीपकृष्ण श्रेष्ठ र घाँसखेती कृषकतर्फ श्रीकालिका कृषि प्रालिका सञ्चालक कृष्णप्रसाद धिताल उत्कृष्ट कृषक घोषित हुनुभयो ।

निर्देशनालयले नवलपरासीको हुप्सेकोट गाउँपालिकाका नागेन्द्र शाहलाई सर्वोत्कृष्ट कृत्रिम गर्भाधानकर्ता घोषित गरी रु ३० हजार पुरस्कार प्रदान गरेको छ ।

यसैगरी कास्कीका खिमलाल रानाभाट, स्याङ्जाका हिरामणी ढकाल, पर्वतका नारायणप्रसाद आचार्य, बागलुङका कृष्णप्रसाद पौडेल, तनहुँका बिनोद बानिया, लमजुङका अमृत अधिकारी, गोरखाका सुदीप विकले जनही रु २० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो ।

मन्त्रालयका सचिव सवनम सिवाकोटी,निर्देशक डा पुन लगायतले उत्कृष्ट छनोट हुनुभएकाहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

Comments
Loading...