भेटेरिनरी अस्पताल कास्कीको ८६ प्रतिशत कार्य प्रगति

हिमाली आवाज । कोरोना महामारीका बाबजुद भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति हासिल गरेको छ ।गत वर्ष कोरोनाले लामो समय प्रभाव पारेपनि कार्यालयले समग्रमा कार्यक्रम कार्यान्वयनमा ८६ दशमलव २७ प्रतिशत प्रगति हासिल गरेको छ । कार्यालयको वित्तिय प्रगति ७१ दशमलव १२ रहेको छ ।

सो कार्यालयको संघ तथा प्रदेशबाट गरी गत वर्ष चालू र पूँजीगत गरी कूल रु नौ करोड ८६ लाख २२ हजार बजेट विनियोजन भएकामा सात करोड १० लाख ४२ हजार खर्च भएको कार्यालयका प्रमुख डा शोभा शर्माले बिहीबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष मत्स्य पोखरी निर्माण अनुदान, उन्नत नश्लको पाडी बाच्छी हुर्काउने कार्यक्रम, गाई भैँसी, बाख्रा,बंगुर, माछा, कुखुरा पकेट विस्तार, भैँसी विकास कार्यक्रम र फार्म यान्त्रीकरण कार्यक्रम कार्यान्वयन गरिएको थियो ।

यसैगरी उत्पादनमा आधारित प्रोत्साहन सहयोग,साना व्यावसायिक फार्म स्थापना र विस्तार,साइलोपिट निर्माण सहयोग,घाँस स्रोत केन्द्र तथा नर्सरी स्थापना सहयोग कार्यक्रम, प्रजनन साँढे राँगो वितरण, घुम्ती गोठ संरक्षण र डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रम गत वर्ष सञ्चालन गरिएको बताइन्छ ।

यसैगरी कास्कीको माछापुच्छ्रे र रुपमा पशुमा पूर्ण खोप कार्यक्रम,मागका आधारमा विभिन्न तालिम तथा विभिन्न रोग तथा महमारी नियन्त्रण र पशु स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शर्माले भन्नुभयो,“हामीले जे जति गरेका छौँ निष्पक्ष भएर पारदर्शि रुपमा सक्दो काम गरेका छौँ । सीमित जनशक्तिका कारण कृषकले चाहना राखेको जस्तो पूरै नभएपनि हामी राम्रो गर्न प्रतिवद्ध छौँ ।”

कार्यक्रममा पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक एवं वरिष्ठ मत्स्य विकास अधिकृत गायत्रीराज वाग्लेले तीनै तहका सरकारकाबीच समन्वयका माध्यबाट कृषकलाई अधिकतम सहयोग र सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पशुपन्क्षीरोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा केदारराज पाण्डेयले चूनौतीपूर्ण समयमा पनि भेटेरिनरी अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय र उल्लेखनीय रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पशुपालक कृषक महासंघ गण्डकीका अध्यक्ष दीपक तिमिल्सिनाले अनुदान वास्तविक कृषकसम्म नपुगेको गुनासो गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रतिनिधि, व्यावसायिक कृषक तथा सञ्चारकर्मीको सहभागिता थियो ।

Comments
Loading...