कास्की प्रहरीले देउसी–भैलो खेलेर किन्यो मोटरसाइकल

हिमाली आवाज । वडा प्रहरी कार्यालय बैदाम पोखराले यस वर्षको तिहारको अवसरमा देउसी–भैलो खेलेर जम्मा भएको पैसाले एक थान मोटरसाइकल खरिद गरेको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनहरु समेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ ।

कार्यालयका अनुसार गत कात्तिक ३ गते लक्ष्मी पूजाका देउसी–भैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी रु दुई लाख २४ हजार नौ सय ७० लागतमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार देउसीबाट रु दुई लाख २१ हजार पाँच सय १४ जम्मा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले आज खरिद गरिएको मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी नायव उपरीक्षक भट्टराईलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले यस कार्यबाट प्रहरी कार्यालयको दैनिक कार्यसम्पादन तथा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने कार्यक्रमा अझै सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरीले आयोजना गरेको देउसी भैलोमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक नवीन कार्की, पोखराका व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि लगायतको सहभागिता थियो।

Comments
Loading...