फेवातालमा चले डुँगा, पर्यटक र डुँगा चालकमा खुःशीयाली

हिमाली आवाज । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ ।दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखी बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखी सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुःशी भएका छन् ।

निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनः व्यवसाय शुरु भएपछि उत्साह छाएको हो । यसैगरी तालमा डुँगा शयर गर्न पाउँदा केही आन्तरिक पर्यटक समेत खुःशी भएका छन् ।फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले प्रशासनसँग समन्वय गरेर डुँगा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताउनुभयो ।

भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार जना र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उहाँको भनाई छ । यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो ।उहाँले भन्नुभयो,“यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठ देखी नौ वटा डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालनमा डुङ्गा शुरु भयो भन्ने सन्देश दिने र निषेधाज्ञाबाट प्रभावित मजदुरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ ।”

तालमा डुङ्गा सञ्चालन भएपनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरति समेत अहिले बन्द छ ।
डुङ्गा चढ्ने पर्यटकहरुलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुँगा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

फेवातलामा नौ वर्षदेखी डुङ्गा चलाउँदे आउनुभएका पोखरा–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय शुरु भएपछि उत्साहित भएको बताउनुभयो । कोरोना सङ्क्रमणबाट आफूपनि जोगिनु चूनौती रहेकाले मास्क नलगाउनेहरुलाई डुङ्गा चढ्न रोक लगाइएको बताउनुभयो ।

“कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन । विस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ ।” परियारले भन्नुभयो,“यात्रु कम हुँदा डुङ्गाको पालो पाउनै गाह्यो छ, पहिलाजस्तो आम्दानी अहिले नभएपनि व्यवसाय सञ्चालन हुँदा खुःशी लागेको छ ।”

अर्का डुङ्गा चालक बाबुराम पुरीले निषेधाज्ञा कारण परिवार पाल्न समस्या भएको बताउनुभयो । पर्यटन व्यवसाय पहिलाकै अवस्थामा फकिर्ने विश्वासमा रहेको बताउनुभयो ।

सम्भावित सङ्क्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको बताउँदै मास्क लगाउने, सेनिटाइज गर्ने गरेको पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको बताउनुभयो ।

Comments
Loading...