कास्कीका सबै पशुलाई खोप लगाएर पशुमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

हिमाली आवाज । कास्की जिल्लामा गाई,भैँसी, बाख्रा, भेडा लगायत सबै पुशलाई खोप दिइने भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले रोगका कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लामा पशुको पूर्ण खोप कार्यक्रम कार्यान्वयन गर्न लागिएको जनाएको छ ।

महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्युनीकरण गर्ने र पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खोप कार्यक्रमले सघाउने विश्वास कार्यालयले लिएको छ ।

माछापुच्छ«े र रुपा गाउँपालिकामा गत वर्ष कार्यक्रम कार्यान्वयन गरिएकामा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालन हुने भेटेरिनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताउनुभयो ।उहाँका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छ«े र रुपामा समेत पुनः खोप दिइनेछ ।

भेटेरिनरी कार्यालयले खोप कार्यक्रम सञ्चालन अघि समन्वयताम्मक बैठक आयोजना गरेको थियो । जिल्लाका पाँच वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, प्रशासकीय अधिकृत, स्थानीय तहका पशु शाखा प्रमुख सहितको बैठकमा स्थानीय तहले पशुको पूर्ण खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पूर्ण सहयोगको प्रतिवद्धता जनाए ।

भेटेरिनरी कार्यालय प्रमुख शर्माका अनुसार खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविज विरुद्धको खोप दिइने छ ।

“महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भवित क्षतिलाई रोक्न पशुहरुमा खोप लगाउनु महत्वपूर्ण छ ।” प्रमुख डा शर्माले भन्नुभयो,“सबैको सहयोगबाट कास्की जिल्लालाईनै पशु खोपयुक्त जिल्ला बनाउने योजनामा छौँ।”

सो कार्यका लागि पहिलो चरणमा विज्ञ केन्द्रका कर्मचारीहरुले गाउँपालिकाभित्र सञ्चालित पशु फार्म तथा कृषकका गोठहरुमा पुगेर गाई,भैँसी,बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ ।

पशु बाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीले पशुमा पूर्ण खोप कार्यक्रम नितान्त नौलो रहेपनि मानव स्वास्थ्य, पशु अधिकार र समृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

स्वस्थ्य पशु उत्पादनबाट कृषकलाई टेवा पुग्ने र आयआर्जनमा सघाउ पुग्ने बताउँदै अधिकारीले भन्नुभयो,“पशुलाई खोप लगाएर पूर्ण खोपयुक्त जिल्ला बनाउनका लागि पशुपालक कृषकहरुलाई सचेतना आवश्यक छ । सबै कृषकमा पुग्ने गरी प्रचार प्रसार गरेर कार्यक्रम सफल बनाउने मुख्य जिम्मेवारी स्थानीय तहको रहेको छ । ”

भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सवनम सिवाकोटीले पशुमा खोप कार्यक्रम प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सरकारले गण्डकीका ८५ वटै स्थानीय तहमा पशुको पूर्ण खोप कार्यक्रम सञ्चालनको योजनामा रहेको बताउनुभयो । पशु ओसारपसारबाट बढी रोग सर्ने भएकाले स्वस्थ पशुका लागि पशु क्वारेन्टिनको महत्व कोभिडसँगै अझ बढेको सचिव सिवाकोटीको भनाई छ ।

समन्वयात्मक बैठकमा मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ, रुपाका अध्यक्ष नवराज ओझा, अन्नपूर्णका अध्यक्ष युवराज कुँबर, भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालयका योजना महाशाखा प्रमुख डा ग्रिष्म न्यौपाने, पशु चिकित्सक डा केदारराज पाण्डे लगायतले मानव स्वास्थ्यका लागि समेत पशुको स्वास्थ्य राम्रो हुनुपर्ने भएकाले पशुको पूर्ण खोप कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...