पोखरा म्याराथन सफल बनाउन पुलको काम गर्नेछु : काउन्सिलर गुरुङ

हिमाली आवाज ।  युके स्थित बार्नेट शहरका पूर्व डिपुटी मेयर तथा हालका काउन्सिलर लक्ष्य बहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन आफूले यूकेको बार्नेट शहर संग पुलको काम गर्ने बताउनुभएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा काउन्सिलर गुरुङले पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निकै प्रभाव पारेको बताउनुभयो ।

पोखरा म्याराथन सफल बनाउन आफ्नो तर्फ बाट पूर्ण सहयोग रहने बताउँदै उहाँले भन्नुभयो,“म स्पोर्टसम्यान त होइन तर पोखरा म्याराथन सफल बनाउन सम्भावनाको खोजी भने म अवश्य गर्ने छु ।”

वार्नेट शहर संग पोखराको भगिनी सम्वन्धको विकासका लागि पोखरा आउनुभएको गुरुङले एशियामा नै पहिलो शहरको रुपमा पोखरा संग भगिनी सम्वन्ध भएको उल्लेख गर्दै काउन्सिलर गुरुङले लण्डन म्याराथनबाट पनि धेरै कुरा सिक्न सकिने बताउँदै खेलाडीहरुको स्वास्थ्य र शुरक्षाको विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

सो अवसरमा मञ्चले काउन्सिलर गुरुङ सहित प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर वानियाँ, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार र सदस्य सचिव शुभाष खड्कालाई वधाई दिंदै कार्य सफलताको शुभकामना व्यक्त गरेकोे थियो ।  मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, विर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले स्वागत गर्नुभयो ।

मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव गुरुङले १६ औं सस्करण सम्म आइपुग्दा समेत म्याराथन निकै चुनौतीका रुपमा सम्पन्न भइरहेको बताउनुभयो ।  पोखरा म्याराथन खेलकुद पर्यटन संग जोड्ने महत्वपूर्ण कार्यक्रम मध्ये एक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाली दाजुभाईले गरेको सहयोगका लागि आभार समेत व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बानियाँले पोखरा म्याराथनले पोखराको खेलकुदमा छुट्टै छाप छोड्न सफल भएको बताउँदै आफ्नो तर्फबाट संधै सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष गोदारले पोखरा म्याराथन जस्तो प्रतिष्ठित म्याराथनले पोखरा शहरलाई विश्वमा खेलकुदको माध्यम बाट पहिचान दिन भूमिका खेलको  बताउँदै पोखरा महानगर खेलकुद म्याराथनको सफलताको लागि संधै सहयोगको ढोका खुल्ला रहेको बताउनुभयो ।

नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सबैको सहयोगले पोखरा म्याराथनको यात्रा १५ औं सस्करण पूरा भएको उल्लेख गर्दै अवका कार्यक्रमहरुमा समेत उत्तिकै सहयोग र प्रतिवद्धताको खाँचो रहेको उल्लेख गर्नुभयो ।  सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष तथा प्रखेपका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम बहादुर गुरुङ, सहारा युकेका सल्लाहाकार महेश गुरुङ लगायतको सहभागिता रहेको थियो ।

 

Comments
Loading...