काँग्रेस कास्की क्षेत्र नं ३(१)को सभापतिमा अधिवक्ता एवं प्राध्यापक पौडेलको उम्मेदवारी

हिमाली आवाज । नेपाली काँग्रेसका आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा १ को सभापतिमा अधिवक्ता एवं प्राध्यापक दीपकराज पौडेलले उम्मेदवारी दिनुहुने भएको छ ।

समावेशी, सक्षम, पारदर्शी नेतृत्वको एकता, सवल र संगठित काँग्रेस आजको आवश्यकताको नारा सहित पौडेल निर्वाचनमा होमिनुभएको हो ।
हिमाली आवाजसँग कुरा गर्दै उहाँले पार्टीका पुराना र निष्ठावान कार्यकर्ता, बुद्धिजीवी, शहीद परिवार सहित समावेशी टिम बनाएर काँग्रेसलाई क्षेत्र नं ३ मा अग्रणी स्थानमा पु¥याउने आफ्नो योजना रहेको सुनाउनुभयो । पौडेलले पार्टी संगठनलाई बलियो बनाउने, गुटबन्दी अन्त्य र प्रशिक्षणमा जोड दिने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“आसन्न तीनै तहका निर्वाचनमा क्षेत्र नं ३ मा काँग्रेसको विजयको झण्डा फहराउने गरी मैले काम गर्नेछु । पार्टीलाई एकढिक्का र बलियो बनाउने काम पहिलो प्राथमिकतामा रहने छ ।” पौडेलले काँग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधिहरुलाई आफूलाई सभापतिमा विजयी गराउन आह्वान गर्दै निर्वाचित भएपछि सँधै पार्टी सदस्यको भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धिताल स्थायी घर हुनुभएका पौडेलले विसं २०४० देखी काँग्रेसको राजनीति शुरु गर्नुभएको थियो । उहाँ विसं २०४६को जनआन्दोलनमा घाइते हुनुभएको थियो ।

पौडेल काँग्रेसको वडा, गाविस, इलाका संयोजक, क्षेत्रीय सदस्य, सचिव हुँदै हाल जिल्ला सदस्य हुनुहुन्छ । तरुण दल कास्कीको संस्थापक सदस्य, विसं २०५४ को निर्वाचित प्रतिनिधि,कास्की जिल्ला बारको सदस्य, सचिव, पुनरावेदन बारको सदस्य हुँदै पौडेल हाल उच्च अदालत बारको उपाध्यक्ष हुनुहुन्छ । पृथ्वीनारायण क्याम्पस पोखरामा उहाँले अध्यापन गर्दै आउनुभएको छ ।

Comments
Loading...