पोखरामा नेपालकै पहिलो जायन्ट स्वीङ : जिपलाइन र बञ्जी समेत एकै ठाउँमा

वासुदेव पौडेल÷कृष्ण दवाडी
गण्डकी १ माघ । साहसिक पर्यटनको गन्तव्यका रूपमा चासो र चर्चा कमाएको पोखरामा एकै ठाउँबाट जायन्ट स्वीङ (पिङ), जिपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ।

जिपलाइनमा विश्वमै ख्यातिप्राप्त अमेरिकी ब्राण्ड ‘जिप फ्लायर’सँग आबद्ध हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिले नेपालमा नै पहिलोपटक सन् २०१२ जुनमा भित्र्याएको जिपलाइन, सन् २०१४ नोभेम्बरमा सुरू गरेको बञ्जी जम्पसँगै सोही स्थानमा जायन्ट स्वीङ पनि थालेको हो।

सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङकोटको टाकुराबाट माछापुच्छ्रेसँग जिस्किँदै हेम्जाको फाँटमा पुगिने जिपलाइनसँगै हेमजामा बञ्जीजम्प सञ्चालन गरिहेकामा साहसिक पर्यटनप्रतिको आकर्षणलाई दृष्टिगत गरी सुपरम्यान जिपलाइन र जायन्ट स्वीङ सुरू गरिएको हाइग्राउन्ड एडभेन्चर्स प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशन दिनेश महर्जनले जानकारी दिनुभयो ।

नेपालमा नै पहिलो जायन्ट स्वीङ निर्माण गरिएको दाबी गर्दै प्रबन्ध निर्देशक महर्जनले खोलाबाट २६२ फिटमाथि ९८ फिटको टावर निर्माण गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार अनुसार टावरमा रहेको डोरीमा स्वीङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ। कुर्सीमा बसे जसरी एक पटकमा तीन जनासम्म खेल्न सकिन्छ। परिवार र साथीहरू सँगसँगै खेल्न सकिने स्वीङ दुईजना मात्र बसेर पनि खेल्न सकिने बताइन्छ ।

’स्वीङको फ्रि फल तीन सेकन्ड छ, यो खेलको अवधि तीन मिनेटको हुनेछ’, उहाँले भन्नुभयो, ’स्वीङको शुल्क दुई हजार, प्रतिव्यक्ति र फोटो भिडिओ टिसर्टको एक हजार २०० रुपैयाँ छ।’

स्वीङ गर्न चाहनेका लागि लेकसाइडबाट निःशुल्क ल्याउने लैजाने व्यवस्था गरिएको जानकारी दिँदै उनले सिधै हेम्जा स्टेसनमा जानेलाई १० प्रतिशत छुट दिइने उहाँले बताउनुभयो ।भारतीय प्राविधिकले निर्माण गरेको स्वीङको भौतिक संरचना, आवश्यक एड्भेन्चर गेयर र प्राविधिकको खर्च गरी रु दुई करोड खर्च भएको बताइन्छ ।

समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरीमा रहेको छ।यति धेरै भिरालो र अग्लो जिपलाइन विश्वमै अरू नभएकाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वकै भिरालो र अग्लो जिपलाइन’ का रूपमा दर्ता गर्न आवेदन दिइएको छ ।

विश्वकै लामोमध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जिपलाइनमा पार गर्न औषत १४० किमी प्रतिघण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ।जिपलाइन गर्न जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारीसाधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङकोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङकोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमालहरूको दृश्यावलोकन गर्न पाउँछन्।पैतीसदेखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन्।
तथ्याङ्कानुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबैभन्दा ज्येष्ठ नागरिक हुन्। पहिलेकै जिपलाइनमा सुपरम्यान शैली भित्र्याउन करिब रु ५० लाख थप खर्च भएको जनाइएको छ।

साधारण जिपलाइन खेल्न रु चार हजार ५०० शुल्क लाग्दछ, जुन ९० सेकेन्ड लाग्दछ। त्यस्तै सुपरम्यान जिपलाइन एक मिनेट अवधिमा पार गरिन्छ। जसका लागि रु छ हजार निर्धारण गरिएको छ। फोटो र भिडियो र टिसर्टका लागि अतिरिक्त रु एक हजार ५०० तिर्नुपर्दछ भने सोही शुल्कमा लेकसाइडबाट ल्याउने लैजाने गरिन्छ।

ग्राहकको सुरक्षालाई दृष्टिगत गरी हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिनुका साथै हरेक महिना मर्मत गर्ने गरिएको छ। हरेक वर्ष जीप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण (सेफ्टी अडिट) गराउने गरिएको महर्जनले जानकारी दिनुभयो ।

जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको बताउँदै उनले कम्पनीबाट प्रयोग गरेको ट्रली, हार्नेस, वायरलगायतको प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको संस्थाको दाबी छ।अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेमजा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोंकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशिष्टता हो।

जिपलाइनकै ग्राउण्ड स्टेशन हेमजामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ। नेपालकै पहिलो टावर बन्जीका रूपमा रहेको यहाँ जोडीले सँगै आँगालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ।संस्थाले एकै स्थानमा सञ्चालन गरेका जायन्ट स्वीङ, जिपलाइन र बन्जीजम्प गर्न चाहनेका लागि प्याकेजमा रु १० हजार शुल्क निर्धारण गरिएको सञ्चालक भरत गोल्छाले जानकारी दिए।

कोरोना महामारीका कारण समग्र पर्यटन क्षेत्र प्रभावित भएकामा संस्थाले सञ्चालन गर्दै आएका साहसिक पर्यटनका गतिविधि पनि प्रभावित बनेको अर्का सञ्चालक अभिनव चुरिवालले बताउनुभयो ।साहसिक पर्यटनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको बताउँदै उहाँले आगामी दिनमा यसतर्फ पर्यटकको आकर्षण अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

तीनवटै पर्यटकीय गतिविधि सञ्चालनमा ल्याउँदा हालसम्म रु २५ करोडभन्दा बढी लगानी भइसकेको र संस्थामा ५० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइन्छ ।संस्थाले चाँडै नै साहसिक पर्यटनको अर्को गतिविधि एटिभी बाइक सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...