गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रिय सभा निर्वाचन,यस्तो छ तयारी

हिमाली आवाज । आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ ।राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यहरुको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो ।

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का दुई र नेकपा(एकीकृत समाजवादी)का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

माओवादीबाट दीनानाथ शर्मा ‘अन्य समूह’ र खीमकुमार विक ‘दलित’ समूहबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो । यसैगरी एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी ‘महिला कोटा’मा निर्वाचित हुुनुभएकामा उहाँहरुको चार वर्षे पदावधि(विसं २०७४ फागुनदेखी विसं २०७८ फागुन) पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावली उपर दावी विरोध लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“राष्ट्रियसभा सदस्यको निर्वाचन तयारी भइरहेको छ, शनिबार मतदाता नामावली प्रकाशन ग¥र्यो, कसैको पनि दावी विरोध परेको छैन । पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।“

प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । प्रदेशसभा र स्थानीय तहका मतदाताहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।उहाँका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचनको कार्यतालिका छ ।

प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७० जना गरी गण्डकी प्रदेशमा कूल २२९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहनेछ ।संविधान बमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर,उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।

नेपालको संविधान जारी भएपछि विसं २०७४ माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो । जसमा प्रत्येक प्रदेशबाट एक दलित एक अपाङ्गता वा अल्पसंख्यक समुदायबाट गरी १४ जना बहुमतीय निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

यसैगरी प्रत्येक प्रदेशबाट तीन महिला र तीन अन्य समूहबाट गरी ४२ जना एकल सङ्क्रमणीय निर्वाचन प्रणालीको आधारमा निर्वाचित भए भने मन्त्रिपरिषद्को सिफारिसमा एक महिला सहित तीन जना राष्ट्रपतिबाट मनोनित भएका थिए । राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ ।
निर्वाचित सदस्यहरुको पदावधि छ वर्षको हुन्छ र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको छ ।

पहिलो दुई वर्षमा पदावधि समाप्त भएका १९ जना सदस्यहरुको विसं २०७६ माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन भएको थियो । चार वर्षमा पदावधि समाप्त हुने २० सदस्यका लागि माघ १२ सातै प्रदेशमा निर्वाचन हुँदैछ ।

Comments
Loading...