राष्ट्यि खेलकुदलाई लक्ष्य गरी पोखरामा गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता हुने

हिमाली आवाज । गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रदेशस्तरीय खुला आर्चरी(धनुषबाँड) प्रतियोगिता पोखरामा हुने भएको छ ।

कास्की जिल्ला आर्चरी सङ्घको आयोजनामा यही पुस २३ र २४ गते पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा सञ्चालन हुने प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन र उनीहरुलाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने लक्ष्य राखिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी खेलाडीहरुको उच्च मनोवल र पर्याप्त अभ्यास पूरा गर्न र धेरै भन्दा धेरै पदक प्राप्त गर्न सक्षम बनाउने उद्धेश्यले पहिलो पटक प्रदेशस्तरीय प्रतियोगिता गरिएको प्रतियोगिता संयोजक बसन्त गौचन(साकुरा)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीबाट गरी ७५ खेलाडीहरुले ‘स्टाण्डर्ड– ३०’ मिटरमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताबाट छानिएका १० उत्कृष्ट खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरामै थप प्रशिक्षण सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदका लागि क्षमतावान् खेलाडी उत्पादन गर्ने हाम्रो योजना छ । विश्व आर्चरी सङ्घको नियमानुसार खेलाइने प्रतियोगिता नयाँ खेलाडी उत्पादन र उनीहरुलाई थप प्रशिक्षणका लागि महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।”

प्रदेशस्तरीय सो प्रतियोगिताबाट छनोट भएका मध्ये चार खेलाडीले राष्ट्रिय खेलकुदमा ‘स्टाण्डर्ड क्याटोगरी’मा पदकका लागि भिड्ने बताइन्छ ।
प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको सङ्घले जनाएको छ । व्यक्तिगततर्फ प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमश ः रु २५,२०,१५ र १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश आर्चरीमा आर्चरीमा च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा आर्चरीमा पाँच स्वर्ण, चार रजत र तीन कास्य गरी १२ पदक जित्न सफल भएको अध्यक्ष शेरचनले बताउनुभयो ।

आर्चरी गण्डकी प्रदेशका छन्त्याल, मगर, थकाली र गुरुङ समुदायमा लोकप्रिय खेलमा पर्दछ । हालसम्म गण्डकी प्रदेशबाट किशोरकुमार गुरुङ, योगेन्द्र शेरचन, असिम शेरचन, नुुटुक गुरुङ, दिलकुमार गुरुङ र देव पुन मगरले अन्तराष्ट्रिय पदक जित्न सफल हुनुभएको छ ।

यसैगरी महिला तर्फ सुजना गौचन, मन्सा गुरुङ, मोनिका राना र रश्मी दर्लामीले अन्तराष्ट्रिय आर्चरी प्रतियोगिताहरुमा पदक जितेको सङ्घले जनाएको छ । पाँचौँ राष्ट्रिय खेलकुददेखी गण्डकी प्रदेश आर्चरीमा निरन्तर च्याम्पियन बनेको बताइन्छ ।

Comments
Loading...