हिमाली आवाज । कोभिड महामारी विरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतनै गण्डकी प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ जना बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ ।बहुवर्षिय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्य अनुरुप यही चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो । एक भायलमा पाँच मात्रा रहेको रङ्ग विहिन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शुन्य दशमलव पाँच एमएल दिइने निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीहरुको तालिम चैत १४ गतेदेखी २४ गतेसम्म सञ्चालन गरिएको छ ।चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखी २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ । गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो ।खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयहरुमा लगाउने व्यवस्था गरिने निर्देशक खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ यस खोप अभियानमा खोप लगाउनेपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयहरुमानै खोप कार्यक्रम सञ्चालन हुनेछ । यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ ।”
टाइफाइड खोपको प्रभावकारीता ९६.९७ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिएपनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोशन न्यौपानेले बताउनुभयो ।
प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिएको बताइन्छ । टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ ।विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस विरामी हुने गरेका छन् । त्यसमध्ये करीब एक लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।
नेपालमा भने प्रति एक लाखमा एक हजार ६२ जनामा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्ष मुनिका बालबालिकामा प्रति एक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।