दुई करोड लगानीमा पोखरामा सञ्चालनमा आयो डी जानकी एग्रो फार्म

हिमाली आवाज । युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डी जानकी एग्रो फार्म प्रालि सञ्चालनमा ल्याउने भएका छन् ।

भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालक समेत रहनुभएका युवा कृषि उद्यमी तिमिल्सिनाले विश्व बैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा १ करोड ९५ लाख ८१ हजार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लाग्नुभयो ।

फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)ले अनुदान स्वरुप ५० प्रतिशत अर्थात ९७ लाख ९० हजार ९ सय १७ रुपैयाँ लगानी गर्नेछ । त्यस्तै, नवील बैंकबाट ६० लाख र सञ्चालकको तर्फबाट तिमिल्सिनाले ३७ लाख ९० हजार ९ सय १६ रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आगामी २०७९ साल पुस ३ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

स्वच्छ दूध उत्पादनका लागि उन्नत पशुपालन व्यवसाय गर्ने उद्देश्यले सञ्चालनमा आउन लागेको फार्मको सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । आयोजना स्थलमै आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)का प्रतिनिधि, पोखरा–१५ का वडाध्यक्ष, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, पशु विज्ञ केन्द्र तथा जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेपाल लाइभ स्टक इन्नोभेसन (एनएलएसआइपी)का प्रतिनिधि डा.रेशमराज ज्ञवालीले उत्पादन, संकलन र प्रशोधनका लागि देशभर ८५ वटा फार्म छनौट गर्दा डि जानकी एग्रो फार्म प्रालि परेको बताउनुभयो ।

फार्म सञ्चालक दीपकप्रसाद तिमिल्सिनाले सरकारको अनुदानमा फार्म सञ्चालन गर्न पाउँदा आफू खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले पैसा कमाउन विदेश जानु पर्दैन । स्वदेशमैपनि पशुपालन वा कृषि कर्म गरेर स्थापित हुन सकिन्छ भन्ने दृढ विश्वास जागेको छ ।’

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले अनुदानमा दोहोरो, तेहेरो हुन नहुने भन्दै त्यसतर्फ अनुदानदाता निकाय सचेत रहनुपर्ने बताउनुभयो ।

Comments
Loading...