एमालेका थापालाई ६ हजार ४५ मतले पछि पार्दै पोखराको मेयरमा  समाजवादीका आचार्य विजयी

हिमाली आवाज ।  पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा(एमाले)का मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखी सुरु भएको मतगणनाको आज विहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रमुखमा आचार्यले नेकपा(एमाले)का कृष्णबहादुर थापालाई छ हजार ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुखमा विजयी आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।

यसैगरी प्रमुखमा राप्रपाका शंकर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशिल साझाका सुशिला केसीले ३३८ ले मत प्राप्त गर्नुभयो । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको थियो ।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै नेकपा(एमाले)का गुरुङ दोस्रो कार्यकालका लागि विजयी हुनुभयो । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो ।

उपप्रमुखमा राप्रपाका रञ्जना कुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशिल साझाका माधव भण्डारीले २६४ र आमुल परिर्वतन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ जना उम्मेदवार हुनुहुन्थ्यो ।

पोखरा महानगरका ३३ वटा वडाहरुमा नेपाली काग्रेसले २३ , नेकपा एमालेले नौ र  वडा नं २२ मा  स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी हुनुभएको छ । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख सहित २२ वडामा नेकपा(एमाले) विजयी बनेको थियो ।

Comments
Loading...