पोखराको नीति तथा कार्यक्रम : ६ महिनामा तीन हजार रोजगारी थप गरिने

दुध, तरकारी, माछा मासुको आयात प्रतिस्थापन गरिने

हिमाली आवाज । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा पौखराको सौन्दर्यीकरणदेखि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

महानगरपालिकाको ११ औं नगरसभामा प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षमा पोखराको समग्र विकासका लागि लगानी सम्मेलनदेखि पूर्वाधार विकासका विभिन्न योजना अघि सारिएको बताउनुभयो । पोखराको विकासका लागि सामुहिक प्रयास आवश्यक आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

आर्थिक तथा मानवीय विकासका परिसूचकहरु समेत विषम रहेको बताउँदै उहाँले आगामी दिनमा यिनै सूचकलाई उच्च विन्दूमा पु¥याउन केन्द्रित गरी स्रोत र साधनको बाँडफाँड गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।सुशासन र विकास प्रक्रियामा स्थानीय सरकारप्रति नागरिकले विश्वास गर्ने आधारशीला तयार गर्नु पर्ने बताउँदै उहाँले जनमुखी सेवा प्रदान गर्ने र विकासलाई द्रुत रुपमा अगाडि बढाउन आगामी पाँच वर्ष लागी पर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा झण्डै चालीस वर्ष अघि जग्गा छुट्याएर पनि बन्न नसकेको बसपार्क बनाउने उल्लेख गरिएको छ ।“कृषि उत्पादनमा वृद्धिः महानगरको समृद्धि” अवधारणा अनुसार कृषिक्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरिने प्रमुख आचार्यले बताउनुभयो । समग्र पोखराको आयात परिमाणको अध्ययन गरी पाँच वर्ष भित्र कम्तिमा दुध, फलफूल, तरकारी, माछा मासुको आयात प्रतिस्थापनमा जोड दिइने उहाँले बताउनुभयो ।

“पशु उत्पादनमा वृद्धिः आर्थिक उपार्जन सहितको समृद्धि“ हाँसिल गर्न पशुपन्छीपालन व्यवसाय प्रवर्द्धन र सम्वर्द्धनका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन, उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य र पशु हाटबजार संचालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
महानगरमा रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगार बजार, स्वरोजगार, उद्यमशीलता बढाउन मानव संशाधन विकास केन्द्रका रुपमा रोजगार बैंक स्थापना गरिने प्रमुख आचार्यले बताउनुभयो ।

“हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा ३,००० रोजगारी थप गर्ने योजनाका साथ प्लस टू तहको अध्ययन सकेका यस क्षेत्रका युवालाई भाषा होटल म्यानेजमेन्ट मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेनरी, ईम्व्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।

महानगरले सहकारी संस्थाहरुलाई व्यावसायिक कृषि पर्यटन उत्पादन क्षेत्रमा आफ्नो पूँजी तथा लगानी परिचालन गर्न सहजीकरण गर्ने र महानगर, सहकारी र समुदायको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग व्यवसायमा लगानी विस्तार गर्ने नीति लिएको छ ।
“स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धि“ लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।

“पर्यटकीय गतिविधिमा वृद्धि ,पोखरा शहरको समृद्धि“ भन्ने अवधारणालाई साकार पार्न पोखराका पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरुको संरक्षण, मुख्य शहर र तालतलैयाहरुको सौन्दर्यकरण, सरसफाइ, शहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने महानगरपालिकाको नीति छ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकार समक्ष अनुरोध गरी पठाई सकिएको बताउँदै उहाँले पर्यटकको बसाइलाई अरु लामो बनाउने उद्देश्यले पोखराको विभिन्न पर्यटकीय गतिविधिको विकासद्वारा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने नीति लिइने बताउनुभयो ।

होमस्टेलाई मौलिक नामाकरण गरी स्थानीय उत्पादनः स्थानीय आतिथ्यताको रुपमा विकसित गरिने आचार्यले बताउनुभयो ।
माइस टुरिजम (मिटिङ, इनिसियटिभ, कन्फ्रेन्स र एक्जिव्युसन) लाई प्रवर्द्धन गर्दै समग्र पोखराको पर्यटन विकासमा विशेष अभियान चलाइने महानगरको नीति छ ।

बैदाम (लेकसाइड) का अलावा वेगनास ताल तथा अन्य पर्यटकीय गन्तव्यहरुको सौन्दर्यीकरण तथा प्रचार प्रसारमा जोड दिइने बताउँदै उहाँले भन्नुभयो, “पर्यटनका थप गन्तव्य जस्तै केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गरिनेछ । पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गरिनेछ ।”
महानगर सहित कास्की जिल्ला नै पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको सन्दर्भमा महानगर भित्र शिक्षाको अधिकारबाट बालबालिका तथा लक्षित वर्गका गरिब महिला, दलित, अल्पसंख्यक कोही पनि बञ्चित हुन नपरोस् भन्ने हेतुले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षाको व्यवस्थापन गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।

सामुदायिक विद्यालयको विद्यालय प्रशासनलाई चुस्त एवं नतीजामुखी बनाई सञ्चालन गर्न सामयिक रुपमा प्रतिस्पर्धी र योग्य प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो ।“स्वास्थ्य र सार्थक जीवनशैलीका लागि खुला व्यायामशाला’’ अवधारणा अन्तर्गत चालु वर्षमा केही स्थानहरुमा खुला व्यायामशाला निर्माण भएको बताउँदै उहाँले आगामी वर्ष स्वास्थ्यका लागि व्यायाम कार्यक्रम अन्तर्गत एक टोल एक खुला क्षेत्र एक व्यायामशाला निर्माण कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताउनुभयो ।

आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाइने बताउँदै उहाँले महानगरका ३३ वटै वडाहरूमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने नीति लिइने उल्लेख गर्नुभयो ।

महानगरभित्र लैंगिक समानता, समाजिक समावेशीकरण र समतामूलक समाज निर्माणका लागि योजना बनाई कार्यारम्भ गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।महानगरपालिका भित्रका प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अभिलेखीकरण गरी क्रमशः संरक्षण, सम्वर्द्धन र सौन्दर्यकरण गर्दै लगिने बताउँदै आचार्यले अर्घौं अर्चलेमा कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलिमिया लगायतका स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

पोखरालाई कला, संस्कृति र ऐतिहासिक सम्पदाको शहरका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनी सम्मको क्षेत्रलाई पोखरा सम्पदास्थल पुरानो बजारको रुपमा प्रवर्द्धन गरिने उहाँले बताउनुभयो ।
महानगरका मुख्य सडकहरुमा नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा युटिलिटी कोरिडोर निर्माण गर्न अध्ययन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गरिने भनिएको छ ।

मध्य पहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विरौटा– कोत्रे सडकलाई प्राथमिकता दिई तयारी कार्य सम्पन्न गरिने आचार्यले बताउनुभयो ।नक्सापास कार्य व्यवस्थित र प्रविधिमैत्री बनाउँदै आवेदन, स्वीकृति एवं इजाजत दिने प्रक्रिया अनलाइन र डिजिटल प्रणाली मार्फत फेसलेस सेवा प्रदान गर्ने नीति लिइने उहाँले बताउनुभयो ।
ग्रेटर पोखराको अवधारणा पत्र तयार पारी सार्वजनिक गरिने उहाँले बताउनुभयो ।फेवाताल नयाँ विमानस्थल वेगनासताल फास्ट ट्रयाक निर्माणको संभाव्यता अध्ययन गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोक स्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणा पश्चात पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्दवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिनेछ ।महानगरको सौन्दर्यकरण र हरियाली प्रवर्द्धनका लागि एकघर एक विरुवा एवम् सडक र नदी किनारामा जलवायु अनुकूलनयुक्त वृक्षारोपण गर्ने नीति लिइने र सम्पूर्ण विद्यालय परिसरमा फलफूलका विरुवा लगाउनुपर्ने नीति लिइने उहाँले बताउनुभयो ।

सेती कोरिडोरको संरक्षण तथा उपयोग गर्दै हरियाली प्रवर्द्धन गरिने बताउँदै उहाँले सीमसार र जलाधार क्षेत्रको संरक्षण गर्दै विशेष उपयोग गर्ने नीति लिइने बताउनुभयो ।नगरका शहरी क्षेत्रका प्रमुख चोकहरुमा खुला स्थानको व्यवस्थापन गरिने र प्रत्येक वडामा कम्तिमा एक–एक वटा शुद्ध खानेपानी सहितको सार्वजनिक शौचालय निर्माण गरिने आचार्यले बताउनुभयो ।

हालको ल्याण्डफिल्ड साइट पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन हुने अवधि अगावै अन्यत्र सार्ने निर्णय भैसकेको बताउँदै उहाँले फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, उर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणलाई अघि बढाइने उहाँले बताउनुभयो ।

पोखरा शहरको विकासको गतिसंगै छिमेकी पालिकाहरुको विकाससँगै लैजानु आजको आवश्यकता रहेको बताउँदै उहाँले यसका लागि क्षेत्रगत नीति निर्माण गर्दा आपसी सहयोग, परामर्श, साझेदारी र समन्वय गर्दै नीति निर्माणमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।

महानगरको कार्यसम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि हेलो मेयर कार्यक्रम एक महिना भित्र शुरु गरिने उहाँले बताउनुभयो । आगामी वर्षदेखि महानगरवाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिने प्रमुख आचार्यले बताउनुभयो ।
महानगरको राजश्व प्रशासनको सुधार मार्फत सुदृढ र सक्षम बनाई राजश्वमा वृद्धि गर्ने नीति अंगीकार गरिने र आन्तरिक स्रोतको परिचालनलाई सबल बनाइने नीति तथा कार्यक्रममा भनिएको छ ।

भगिनी सम्बन्ध भएका शहरहरुसँगको सम्बन्ध सुदृढ र प्रगाढ बनाउँदै प्रभावकारी समन्वय गरी साझेदारी गरिने उहाँले बताउनुभयो । श्रमजीवी पत्रकारहरुको क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै उहाँले पत्रकार बीमा कार्यक्रममा पत्रकार महासंघसँग सहकार्य गरिने आचार्यले बताउनुभयो ।

Comments
Loading...