माछापुच्छ्रे गाउँपालिकामा प्रदेशबाट ३० करोडका योजना

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट रु ३० करोड बराबरका योजना परेका छन् ।
गण्डकी सरकारका अर्थमन्त्री समेत रहनुभएका रामजी प्रसाद बरालको निर्वाचन क्षेत्र समेत पर्ने गाउँपालिकामा सडक पूर्वाधार, मोटरेवल पुल, सिँचाई आयोजना, नदी नियन्त्रण लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरेर रातो किताबमा प्रकाशित गरिएको छ ।

अघिल्ला वर्षहरुमा पनि मन्त्री बरालको पहलमा माछापुच्छ्रेमा ठूलो बजेट पर्ने गरेको थियो ।माछापुच्छ्रे गाउँपालिकामा चालू आवमा परेका बजेटमा सम्वन्धमा गाउँपालिकामा आयोजित छलफल कार्यक्रममा समग्र पालिकाको बजेट राम्रो रहेपनि वडाहरुमा समानुपातिक वितरण नभएको गुनासो गरिएको छ । गाउँपालिकाको वडा नं ५, वडा नं ९ र वडा नं १ मा प्रदेशबाट कम बजेट परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेशको चालू बजेटमा मलेबाटे धिताल धम्पुस सडकका लागि रु तीन करोड, मर्दीपुलदेखी गाउँपालिका जोड्ने सडकका लागि रु दुई करोड ५० लाख,मर्दीखोला मोटरेवल पुल भिँडाबारी र डाँडागाउँ जोड्ने पुलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरिएको अर्थमन्त्री बरालले बताउनुभयो ।

यसैगरी सार्दीखोला–घाचोक जोड्ने मोटरेवल पुलका रु तीन करोड, चोर खोल्सा समिबगर रिभान कुइबाङ पावर हाउस सडकका लागि रु एक करोड, भाङखोलादेखी ल्वाङसम्मको बाटोका लागि रु एक करोड, लुम्रे कुइबाङ सैतीघट्ट सिदिङ कालीमाटी घलेल हुँदै लुम्रे सडकका लागि रु ५० लाख, नयाँपुल इदीखोला खानेपानी रु ५० लाख, सार्दीखोला बाँझोखेत देउराली सडक रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

छलफल कार्यक्रममा अर्थमन्त्री बरालले विगत पाँच वर्षको अवधिमा माछापुच्छ«ेको विकासको जग बसेकाले यसलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ माछापुच्छ्रेको विकासको जग तयार भएको छ, केही अपुगतालाई पूर्णता दिएर समृद्ध बनाउने दायित्व नयाँ जनप्रतिनिधिको छ । जनताको सेवकका हिसावले म पदमा रहँदा वा नरहँदा पनि माछापुच्छ«्को विकासमा सँधै साथमा रहने छु ।”
मन्त्री बरालले आफ्नो पाँच वर्षे कार्यकालमा प्रदेश सरकारबाट माछापुच्छ«ेमा पाँच वटा पक्की मोटरेवल पुलको योजना पारेकामा अहिले दुई वटा सम्पन्न भएको र बाँकी निर्माणको चरणमा रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले कास्कीका चार वटा गाउँपालिका मध्येमा माछापुच्छ«ेमा धेरै बजेट परेको बताउँदै बजेट कम परेका वडामा प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले सेती नदी र मर्दीखोलाको संगम जलकिनीमा पक्की मोटेरेवल पुलको खाँचो रहेकाले प्रदेश सरकारले त्यसतर्फ बजेट विनियोजन गर्नुपर्ने अध्यक्ष गुरुङले आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले प्रदेशका कतिपय धेरै बजेटका कार्यक्रम आउँदा कार्यान्वयनमा कठिनाई भएको बताउनुभयो । उहाँले प्रदेशको बजेट कम्तिमा १० लाख भन्दा थोरै हुन नहुनेमा जोड दिनुभयो ।

वडा नं ८का वडाध्यक्ष राम गुरुङले स्थानीय सरकार साधन स्रोतमा आफ्नै खुट्टामा उभिनुपर्ने भएपनि अन्नपूर्ण संरक्षण क्षेत्र(एक्याप)का कारण आफ्नो भुगोलको स्रोत साधन प्रयोग गर्न नपाएको बताउनुभयो । उहाँले वातावरणीय सेवाको भुक्तानी सिद्धान्त लागू गरी मर्दीखोलाको पानी लगे बापत खानेपानी संस्थानले गाउँपालिकालाई राजश्व छुट्टाउनुपर्ने र त्यसमा प्रदेश सरकारले साथ दिन आग्रह गर्नुभयो ।

वडा नं ७ का वडाध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रदेश सरकारबाट माछापुच्छ्रेमा गौरवका योजना समावेश भएर बजेट विनियोजन भएकाले मन्त्री बराल र प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सडक, मोटेरेल पुल र सिँचाईका लागि विनियोजित बजेट समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा गाउँपालिकाका प्रमुख प्रशासकीध अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नं १ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा नं ४ का वडाध्यक्ष मधुसुदन पौडेल, वडा नं ५ का वडाध्यक्ष नारायणप्रसाद पौडेल, वडानं ६ का वडाध्यक्ष टेकनाथ गौतम, वडा नं ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री, कार्यपालिका सदस्यहरु लगायतले प्रदेशको बजेट विनियोजन समग्र पालिकाको हितमा रहेको बताउनुभएको थियो ।

Comments
Loading...